Technology Khabar १९ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
आज दिउँसो सरकारले औपचारिक रुपमा फेसबुक, व्हाट्सएप तथा मेसेञ्जरलगायत २६ सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय बनाउने निर्णय गरेसँगै अधिकांशले फेसबुक पोस्टमै आफ्ना भाइबर वा टिक टकको लिङ्क वा क्यूआर कोड राखेर ‘अब यता भेटौं है’ भन्दै पोस्ट राखिरहेका छन्।
यसबाहेक भाइबरमा रहेका वा व्हाट्सएप, टेलिग्राम वा सिग्नलमा रहेका विभिन्न ग्रुपमा समेत अबको विकल्प टिक टक वा भाइबर भएकोले उतै जोडिन आग्रहसहितका मेसेज वा निमन्त्रणा आदान प्रदान भइरहेका छन्।
यस्तै विभिन्न समाचार पोर्टलहरुले समेत अब आफ्ना समाचार तथा जानकारीका लागि यी लिङ्क फलो गर्नुहोस् भन्दै यिनै दुई प्लेटफर्मका ठेगाना दिइरहेका छन्।
सामान्यतया: नेपालमा दर्ता भएकामध्ये टिक टक मनोरञ्जनात्मक भिडियो तथा जानकारी शेयरका लागि प्रचलित छ भने भाइबर एक अर्कासँग फोन, भिडियो कल तथा मेसेजका लागि सहज भएकोले पनि अधिकांशले फेसबुक, व्हाट्सएप तथा मेसेञ्जरको विकल्प यिनीहरुलाई रोजेको हुन सक्छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले समेत आफूले आधिकारिक फेसबुक पेजमार्फत शेयर गरिरहेका समाचार तथा जानकारीहरुका लागि टिक टकको लिङ्क शेयर गरेको छ।
सम्बन्धित समाचार
सामाजिक सञ्जाल बन्दको असर साइबर ब्यूरोलाई पनि, अब टिकटकमार्फत जानकारी शेयर गर्ने
यसरी हेर्दा सर्वसाधारणहरु आफूलाई सही वा गलत जे लागे पनि सरकारले गरेको निर्णय नमानी सुख छैन भनेर उपलब्ध विकल्पतर्फ जान तयार भएका देखिन्छन्।
यद्यपि विभिन्न संघसंस्थाहरुबाट अभिव्यक्ति स्वतन्त्रतालगायतका मौलिक हक हनन भएको भन्दै विज्ञप्ति आउने क्रम जारी छ। सरकारमा रहेका वा प्रतिपक्षमा रहेका सांसद तथा नेताहरुले पनि सामाजिक सञ्जाल निष्क्रिय गराउने निर्णयबारे पक्ष वा विपक्षमा आआफ्ना धारणा राखिरहेका छन्।
पूर्व सञ्चारमन्त्री तथा एमाले सांसद गोकुल बाँस्कोटाले भने यो निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
उनले आफ्नै नामको भेरिफाइड फेसबुक पेजमा साझपख एउटा स्टाटस राखेका छन्।
जसमा भनिएको छ: ‘नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथेँ मैले। तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ। विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि।’
उनक यो स्टाटसले सरकारले यो निर्णय गरेर निरङ्कुश प्रवृत्ति देखाएको भन्ने अर्थ दिन्छ।
प्रकाशित: १९ भाद्र २०८२, बिहीबार