मेटाले दर्ताका लागि अनौपचारिक रुपमा चासो देखायो: औपचारिक रुपमा आउनुपर्ने प्रवक्ताको भनाई

Technology Khabar १९ भाद्र २०८२, बिहीबार

मेटाले दर्ताका लागि अनौपचारिक रुपमा चासो देखायो: औपचारिक रुपमा आउनुपर्ने प्रवक्ताको भनाई

काठमाडौं ।

फेसबुक, इन्स्टाग्राम तथा व्हाट्सएपको मूल कम्पनी मेटाले नेपालमा दर्ता हुने प्रक्रिया तथा कागजातबारे अनौपचारिक रुपमा चासो देखाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार मेटाले औपचारिक रुपमा सरकारलाई पत्राचार गरेको नभई अनौपचारिक रुपमा सञ्चारमन्त्रीका विज्ञ सल्लाहकारलाई इमेल पठाएर दर्ताका लागि आवश्यक कागजात तथा प्रक्रियाबारे सोधेको हो।

प्रवक्ता ठाकुरले भने, ‘मेटाले सरकारलाई औपचारिक ईमेल वा पत्र पठाएको होइन। तर उसले दर्ताबारे चासो राख्नु पनि सकारात्मक कदम भएको हिसाबले हामीले दर्ता प्रक्रिया र आवश्यक कागजातबारे औपचारिक रुपमा नै ईमेल पठाएका हौं।

मन्त्रिपरिषदले फेसबुकलगायतका २६ सामाजिक सञ्जाल निष्क्रिय गर्ने औपचारिक निर्णय गरेर नियामकलाई कार्यान्वयनका लागि पत्राचार गरिसकेपछि आज साँझपख उक्त अनौपचारिक पत्राचार भएको प्रवक्ता ठाकुरले भने।

‘हामीले सकारात्मक हिसाबले हेरेका मात्र हौं। सरकारलाई औपचारिक ईमेल आएपछि मात्र सरकारका तर्फबाट औपचारिक रुपमा जवाफ दिन्छौं। आज आएको व्यक्तिगत ईमेलका भरमा मेटा दर्ता हुँदैन’, ठाकुरले प्रष्ट पारे।

यसअघि आज नै सरकारले सामाजिक सञ्जालहरु निष्क्रिय गराउने निर्णय गरेको थियो। सूचना तथा सञ्चार मन्त्रालयमा आज बसेको मन्त्रिपरिषद बैठकले सूचीकरण हुन नआउने सामाजिक सञ्जाललाई निष्क्रिय बनाउने निर्णय गरेको हो।

यस निर्णय अन्तर्गत फेसबुक,एक्स, यूट्युबलगायत २६ ओटा सामाजिक सञ्जाल बन्द हुने भएका छन्। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज उक्त निर्णय गरेको हो।

सरकारले तोकिएका सामाजिक सञ्जाल बन्द गर्न नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई निर्देशन समेत दिइसकेको छ भने प्राधिकरणले सम्बन्धित इन्टरनेट सेवा प्रदायकहरुलाई परिपत्र गरिसकेको छ।

सूचीकरण हुन आउन दिएको सात दिने अल्टिमेटम बुधबार राति समाप्त भएको र यो समयावधिमा कुनै लक्षित सामाजिक सञ्जाल प्लेटफर्महरु दर्ता हुन नआएपछि आज यस्तो निर्णय आएको हो।

Sajilo Visa

प्रकाशित: १९ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया