धुलिखेल अस्पतालमा नयाँ थुलियम लेजर प्रविधिबाट पत्थरीको उपचार शुरु

Technology Khabar १० भाद्र २०८२, मंगलवार

काठमाडौं ।

धुलिखेल अस्पतालले पिसाबसँग सम्बन्धित रोग, मूत्र प्रणालीमा हुने पत्थरी तथा प्रोस्टेटसम्बन्धी समस्याको उपचारका लागि अत्याधुनिक थुलियम लेजर प्रविधि (थुलेप) प्रयोगमा ल्याएको छ।

अस्पतालले करिब डेढ महिनाअघि थुलेप प्रविधि भित्र्याएको हो। पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालका सहप्राध्यापक तथा
युरोलोजिस्ट डा. राजन कोजूले मूत्र प्रणालीमा हुने पत्थरीलगायतको उपचारका लागि अस्पतालले डेढ महिनाअघिबाट अत्याधुनिक थुलेप प्रविधि भित्र्याएको बताए। उनले अस्पतालमा यो प्रविधि भित्र्याएपछि हालसम्म १२ जनाको सफल उपचार भएको जानकारी दिए।

थुप प्रविधिले उमेर बढ्दै जाँदा देखिने प्रोस्टेटको समस्या, पत्थरी तथा पिसाबसम्बन्धी विभिन्न क्यान्सरका बिरामीलाई सहज र सुरक्षित उपचार गर्न सकिने उनले बताए।

“थुलियम लेजर प्रविधिको माध्यमबाट बिरामीको उपचार गर्दा यसभन्दाअघि गरिने उपचार पद्धतिभन्दा सहज हुने भएकाले रक्तश्राव कम हुनुका साथै बिरामीले बढीमा तीन दिन मात्रै अस्पताल बस्नुपर्ने अवस्था हुने भएकाले यो प्रविधिमार्फत उपचार गराएका बिरामी छिटै सामान्य जीवनमा फर्कन सक्छन्,” डा. कोजूले भने।

उनले उमेर बढ्दै जाँदा अधिकांश पुरुषमा प्रोस्टेटको समस्या देखिने भन्दै अस्पतालले सुरु गरेको यो सेवाबाट धेरै लाभान्वित हुन सक्ने जानकारी दिए।

आजको गोरखापत्रबाट

प्रकाशित: १० भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया