Technology Khabar ६ भाद्र २०८२, शुक्रबार
काठमाडौं ।
रुपन्देही प्रहरीले राजस्व छलिको रु एक करोड ७१ लाखको अवैध सामान बरामद गरेको छ। प्रहरीले राजस्व छलिको सामानसहित जीप चालकलाई नियन्त्रणमा लिएको छ।
बिलबिजक विनाका सामान ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवारबाट राजस्व छलिको सामानसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।
मायादेवी गाउँपालिका–४ का ३० वर्षीय नारायण अग्रहरि बनियाँले चलाएको लु२च ६३०३ नम्बरको जीपमा जाँच गर्दा विना बिलबिजकका सामान फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। बरामद गरिएका सामानमा विभिन्न कम्पनीका फ्लेबर २७ कार्टुन, लाखौँ मूल्यको इलेक्ट्रोनिक भेप तथा प्याकेजिङका सामानहरू रहेको छ।
बरामद गरिएका सामानहरूमा विभिन्न कम्पनीका फ्लेभर (२७ कार्टुन), इलेक्ट्रोनिक भेप (विभिन्न मोडलका ५८६१ पिस), इलेक्ट्रिक मिक्स्चर, प्लास्टिक प्याक गर्ने मेसिन र प्याकेजिङ प्लास्टिक रहेका छन् ।
चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: ६ भाद्र २०८२, शुक्रबार