Technology Khabar ६ भाद्र २०८२, शुक्रबार
काठमाडौं ।
सोनीले माइक्रोसफ्ट र निन्टेन्डो भन्दा लामो समयसम्म मूल्य वृद्धि रोक्दै आएकोमा तर अब भने अमेरिकामा प्लेस्टेशन कन्सोलको मूल्य बढाएको छ। डिस्क ड्राइभसहितको स्ट्यान्डर्ड पीएस ५ अहिले ५५० डलरमा पाइनेछ, जुन पहिले ५०० डलर थियो।
डिजिटल एडिसन ५०० डलरमा पुग्नेछ, जुन पहिले ४५० डलर थियो। त्यस्तै पीएस ५ प्रो किन्न अब ७५० डलर खर्च गर्नुपर्नेछ। यसअघि यसको मूल्य ७०० डलर थियो। अर्को शब्दमा भन्नुपर्दा, प्रत्येक कन्सोलमा ५० डलर बढेको छ।
इन्ग्याजेटका अनुसार सोनीले मूल्य वृद्धिको कारण बजारको अनिश्चितता भएको जनाएको छ। “धेरै विश्वव्यापी व्यवसायझैँ हामी पनि चुनौतीपूर्ण आर्थिक अवस्थामार्फत अघि बढिरहेका छौँ,” कम्पनीले ब्लग पोस्टमा भनेको छ। “यसको परिणामस्वरूप, अमेरिकामा प्लेस्टेशन ५ कन्सोलको मूल्य अगस्ट २१ देखि बढाउने कठिन निर्णय लिनुपरेको छ।”
तर हाललाई कम्पनीले सहायक उपकरणहरूको मूल्य नबढाउने बताएको छ। “हामीसँग अन्य बजारका लागि मूल्य परिवर्तनको कुनै घोषणा छैन,” सोनीले थप बताएको छ।
यसअघि अप्रिल महिनामा सोनीले बेलायत, युरोप र अष्ट्रेलियामा पीएस ५ को मूल्य बढाएको थियो। त्यही महिनामा कम्पनीले पीएस प्लसको मूल्य पनि विभिन्न बजारमा बढाएको थियो। त्यसैले अब अमेरिकामा पनि मूल्य वृद्धि हुने सम्भावना धेरै भएको देखिएको थियो।
सामान्यतया कन्सोलको जीवनचक्रको यस चरणसम्म आइपुग्दा मूल्य घटेको हुने गर्छ। तर यसपटक त्यस्तो छैन। यो पुस्ता सुरु भएको करिब पाँच वर्षपछि पनि जसले अझै पीएस ५ वा एक्सबक्स सिरिज एक्स/एस किनेका छैनन्, उनीहरूले अब अझ बढी रकम खर्च गर्नुपर्नेछ। निन्टेन्डो स्विच पनि यस्तै अवस्थामै छ, तर अहिले स्विच २ किन्नु उपयुक्त देखिन्छ, जसको मूल्य मात्र ६० डलर बढी छ।
प्रकाशित: ६ भाद्र २०८२, शुक्रबार