नेपाल टेलिकमको सिम कार्ड अबदेखि आधिकारिक रुपमा नमस्ते पे ले बिक्री वितरण गर्ने

Technology Khabar ५ भाद्र २०८२, बिहीबार

नेपाल टेलिकमको सिम कार्ड अबदेखि आधिकारिक रुपमा नमस्ते पे ले बिक्री वितरण गर्ने

काठमाडौं ।

नेपालमा डिजिटल वित्तीय सेवा प्रदान गर्दै आएको डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड अन्तर्गतको नमस्ते पे ले अब आधिकारिक रुपमा नेपाल टेलिकमको सिम कार्ड बिक्री वितरण गर्ने इजाजत पाएको छ।

नेपाल टेलिकम र नमस्ते पेबीच आज भएको नयाँ सम्झौतापछि अबदेखि टेलिकमका सिम कार्ड बिक्री गर्ने खुद्रा व्यवसायीलाई उपलब्ध हुने कमिसनको भुक्तानी नमस्ते पे मार्फत सोझै हुने भएको छ।

नेपाल टेलिकमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यो नयाँ व्यवस्थाले कमिसन भुक्तानी प्रणालीलाई छिटो, पारदर्शी र सहज बनाउने उल्लेख गरेको छ। सम्झौता अनुसार नयाँ व्यवस्था लागू भएपछि नेपाल टेलिकमका सिम कार्ड बिक्री गर्ने खुद्रा व्यवसायी र पोइन्ट अफ सेल आउटलेटहरूले ग्राहकको केवाईसी विवरण स्वीकृत भएको एक हप्ताभित्रै आफ्नो कमिसन नमस्ते पे वालेटमा प्राप्त गर्नेछन्।

डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड नेपाल टेलिकमको आफ्नै सहायक कम्पनी हो। भुक्तानी गर्दा आयकर ऐन बमोजिम कर कटौती गरेर भदौ महिनाबाट नै नयाँ प्रणालीमार्फत कार्यान्वयन सुरु गरिने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।

अफलाइन सेवामा पनि सुविधा

यससँगै नमस्ते पे प्रयोगकर्ताहरूले *यूएसएसडी कोड *५००# प्रयोग गरेर इन्टरनेट नहुने अवस्थामासमेत (अफलाइन) रिचार्ज, बिल भुक्तानी तथा पैसा पठाउने सेवा लिन सक्ने व्यवस्था गरिएको छ। नेपाल टेलिकम र नमस्ते पेबीचको यो सहकार्यले डिजिटल भुक्तानी प्रणालीलाई अझ विश्वसनीय, छरितो र आधुनिक बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

केही समयअघि टेक्नोलोजीखबरले सिमकार्ड बिक्री गर्दा टेलिकमले तोकेको भन्दा बढी रकम लिएकोबारे विश्लेषणात्मक समाचार प्रकाशन गरेको थियो। त्यसपछि नेपाल टेलिकमले सिमकार्ड बिक्री वितरण गर्दा आफूले तोकेभन्दा बढी रकम  नलिन आग्रह गर्दै सूचना जारी गरेको थियो।

सम्बन्धित समाचार

सरकारी टेलिकमको सिम कार्ड बिक्रीमा वर्षौंदेखि ग्राहकहरु ठगिँदै, नेपाल टेलिकम मुकदर्शक, मिलेमतोको आशंका

सरकारी टेलिकमको सिम कार्ड बिक्रीमा वर्षौंदेखि ग्राहकहरु ठगिँदै, नेपाल टेलिकम मुकदर्शक, मिलेमतोको आशंका

Sajilo Visa

प्रकाशित: ५ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार