Technology Khabar ५ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
क्वालकमको नयाँ ७–सिरिज चिपसेट घोषणा गरिएको छ। यस नयाँ ७–सिरिजको चिपसेटले आफ्नो पूर्ववर्तीको तुलनामा केही सामान्य अपडेटहरू मात्र ल्याएको छ।
स्न्यापड्रागन ७एस जेन ४ (एसएम७६३५–एसी) गत वर्षको एसडी ७एस जेन ३ को प्रत्यक्ष उत्तराधिकारी भएको र यसमा उही १+३+४ कोर आर्किटेक्चरको साथ लगभग अपरिवर्तित क्रियो सीपीयू प्रदान गरिएको छ।
१× प्राइम कोर्टेक्स–ए७२० कोर अब ७एस जेन ३ मा २.५गीगाहर्जको तुलनामा २.७ गीगाहर्जमा क्लक गरिएको छ। ३× कोर्टेक्स–ए७२० (२.४गीगाहर्ज) युनिट्स र ४× कोर्टेक्स–ए५२० (१.८गीगाहर्ज) मोड्युलहरूमा क्लक स्पिड अपरिवर्तित रहेको बताइएको छ।साथै यसमा सीपीयू कार्यहरूमा ७ प्रतिशत पर्फर्मेन्स गेन (प्रदर्शन वृद्धि) को आशा गर्न सकिने क्वालकमले बताएको छ।
नयाँ चिपले अपडेट गरिएको एड्रेनो जीपीयू प्राप्त गरेको र यसले आफ्नो पूर्ववर्तीको तुलनामा ७ प्रतिशत बुस्ट प्रदान गर्ने क्वालकमले दाबी गरेको छ। साथै यसले एडाप्टिभ पर्फर्मेन्स इन्जिन ३.० र स्न्यापड्रागन गेम सुपर रिजोल्युसन जस्ता स्न्यापड्रागन एलिट गेमिङ सुविधाहरू पनि ल्याएको छ।
त्यसैगरी १४४ हर्ज रिफ्रेस रेटमा अल्ट्रा–वाइड डिस्प्ले (१,३०० × २,९०० पिक्सेल सम्म) को लागि थप समर्थन यसको नयाँ बिट भएको बताइएको छ। क्वालकमले अपडेट गरिएको स्पेक्ट्रा आईएसपी पनि ल्याइरहेको छ जसले २०० मेगापिक्सेल सेन्सरहरू र हाइब्रिड लग गामा (एचएलजी), एचडीआर१० र एचडीआर१०+ ढाँचाहरू सहित ३० एफपीएसमा ४के भिडियो लिन सक्ने छ।
अपडेट गरिएको हेक्सागन एनपीयूले एललामा १बी, क्वेन १बी र रियल–टाइम ट्रान्सलेसनको लागि समर्थनको साथ राम्रो एआई पर्फर्मेन्स प्रदान गर्ने जनाइएको छ। त्यसैगरी चिपमा ३,२०० मेगाहर्जमा एलपीडीडीआर५ र्याम र यूएफएस ३.१ स्टोरेज साथै क्वालकमको क्विक चार्ज ४+ चार्जिङ प्रविधि रहेको छ।
कनेक्टिभिटी पक्षमा, नयाँ ७एस जेन ४ चिपले सब–६ गीगाहर्ज फाइभजी, वाई–फाई ६ई र ब्लुटुथ ५.४ लाई समर्थन गर्दछ। साथै यसले एप्टएक्स लसलेस र एप्टएक्स एडाप्टिभ अडियो कोडेकहरूको लागि पनि समर्थन ल्याएको छ।
क्वालकमले अहिलेसम्म कुन फोनमा यो ब्राण्ड–न्यू चिप डेब्यू हुनेछ भन्ने कुरा नखुलाएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ५ भाद्र २०८२, बिहीबार