Technology Khabar ३० श्रावण २०८२, शुक्रबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले गण्डकी तथा लुम्बिनी प्रदेशमा अप्टिकल फाइवर नेटवर्क मार्फत सूचना महामार्ग निर्माण गर्ने जिम्मा नेपाल टेलिकमलाई दिएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले यसको लागि आज टेलिकमसँग सहमतिपत्रमा हस्ताक्षर गरेको छ।
प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी र नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सविना मास्के मानन्धरले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी गण्डकी तथा लुम्बिनी प्रदेशमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले ब्याकबोन नेटवर्क निर्माण गर्नेछ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जिम्मेबार तरिकाले सो परियोजनाको काम गर्न र समयमै सम्पन्न गर्न निर्देशन दिए।
“प्रोजेक्टको काम जनताले देख्न पाउनुपर्छ। यो वर्षभित्र काम शुरु गर्नुपर्छ। यो डिजिटल नेपाल फ्रेमवर्क २.० को लागि महत्वपूर्ण छ,” मन्त्री गुरुङले भने।
कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष भण्डारीले यसअघि अन्य कम्पनीहरुलाई उक्त प्रदेशमा ब्याकबोन नेटवर्क निर्माणको जिम्मा दिईएकोमा लामो समयसम्म परियोजना शुरु नै गर्न नसकेपछि अहिले नेपाल टेलिकमलाई दिईएको जानकारी दिए।
“सरकारले दिएको निर्देशन अनुसार २ अर्ब १ करोड रुपैयाँ लागत अनुमान रहेको परियोजना नेपाल टेलिकमलाई दिईएको हो। कम्पनीले यहि आर्थिक वर्षभित्र काम शुरु गर्नेछ,” उनले भने।
भण्डारीकाअनुसार यो परियोजनाले उक्त प्रदेशका १९४ स्थानीय तहसम्मनै ब्याकबोन नेटवर्क पुग्नेछ। यसको लागि ४८ कोरको एडीएसएस २६ ओटा डीडब्लुडीएम र ४० जीबीपीएसका राउटरहरु राखिनेछन्।
यो परियोजना ३ वर्षमा पुरा गर्ने लक्ष्य राखिएको प्राधिकरण अध्यक्ष भण्डारीले जानकारी दिए।
यसैगरी कार्यक्रममा नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देश सविना मास्के प्रधानले यो परियोजनाले थप जिम्मेबारी बढेको बताईन्।
उनले भनिन्, “दुबै प्रदेशका २३ जिल्लामा यसले कभरेज गर्नेछ। यसले गुणस्तरिय दूरसञ्चार सेवा पुर्याउन सहयोग पुग्नेछ।”
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले तोकिएको समयमा र तोकिएको गुणस्तरअनुसार काम गर्ने विश्वास व्यक्त गरिन्। यस्तै उनले परियोजनाहरू समयमै सम्पन्न गर्न गराउन अनुगमन संयन्त्रलाई चुस्त बनाई प्रस्तावित आयोजना तोकिएको गुणस्तर बमोजिम तोकिएको समय भत्र सम्पन्न गर्न निर्देशन दिइन्।
परियोजनाले गण्डकी प्रदेश र लुम्बिनी प्रदेश अन्तर्गत मध्यपहाडी लोकमार्ग, पूर्व-पश्चिम राजमार्ग तथा उत्तर-दक्षिण राजमार्गमा अप्टिकल फाइवर नेटवर्क मार्फत सूचना महामार्ग निर्माण तथा सञ्चालन गर्नेछ।
समझदारी पत्रमा हस्ताक्षर भएको मितिबाट लागू हुने गरी ९० दिनभित्र नेपाल टेलिकमले विस्तृत आयोजना प्रतिवेदन (Detail Project Report) दूरसञ्चार प्राधिकरण समक्ष पेश गर्नुपर्ने र १२० दिनभित्र यस आयोजना कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता गरिने गरी समझदारी पत्रमा उल्लेख गरिएको छ।
यस आयोजनाबाट करिब १,९०० कि. मि. लम्बाईको नयाँ अप्टिकल फाइवर नेटवर्क निर्माण तथा सञ्चालन हुनेछ। सेवा प्रदायकहरुबीच उक्त पूर्वाधारको सहप्रयोग समेत हुने गरी सूचना महामार्ग सञ्चालन हुनेछ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका १९४ स्थानीय पालिकामा उच्च क्षमताको सूचना महामार्ग निर्माण भई डिजिटल खाडल (Digital Divide) कम हुने तथा सर्वसुलभ र भरपर्दो रुपमा दूरसञ्चार एवं सूचना प्रविधि सेवा उपलब्ध हुने विश्वास लिईएको प्राधिकरणले उल्लेख गरेको छ।
प्रकाशित: ३० श्रावण २०८२, शुक्रबार