क्युरियोसिटी रोभरले मंगल ग्रहमा भेट्यो अर्बौं वर्ष पुरानो ‘मुगा’को पहाड

Technology Khabar २४ श्रावण २०८२, शनिबार

काठमाडौं ।

नासाको क्युरियोसिटी रोभरले मंगल ग्रहमा कोरल अर्थात् मुगा जस्तै देखिने चट्टानको आकर्षक तस्बिर पठाएको छ।

यो अनौठो वस्तु वास्तवमा सानो, हल्का रङको, हावाबाट घिस्रिएको चट्टान हो, जुन रोभरले जुलाई २४ मा रातो ग्रहको गेल क्रेटर भित्र फेला पारेको हो। तर यसको बनावट पृथ्वीका समुद्रमा पाइने कोरल जीवसँग मिल्दोजुल्दो देखिन्छ।

क्युरियोसिटी रोभरमा जडान गरिएको हाइ-रेजोल्युसन टेलिस्कोपिक क्यामेरा ‘रिमोट माइक्रो इमेजर’ ले खिचेको श्यामश्वेत तस्बिर नासाले अगस्ट ४ मा सार्वजनिक गरेको थियो। सो तस्बिरमा करिब १ इन्च (२.५ सेन्टिमिटर) चौडाइको चट्टान जटिल शाखासहित देखिने लाइभसाइन्सले उल्लेख गरेको छ।

“क्युरियोसिटीले यस्ता धेरै चट्टानहरू फेला पारेको छ, जुन प्राचीन पानी र अरबौं वर्षको हावाको बालुवाले घिस्रिएर बनेका हुन्,” नासाले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।

विज्ञप्तिअनुसार मंगल ग्रहमा कोरलजस्ता देखिने चट्टानहरू अरबौं वर्षअघि बन्न थालेका थिए, जब त्यहाँ पानी हुन्थ्यो। पृथ्वीमा जस्तै, त्यहाँको पानी पनि घुलनशील खनिजहरूले भरिएको थियो। ती खनिजहरूले चट्टानका साना चिराहरू हुँदै प्रवेश गरेर क्रमशः जम्मा हुँदै चट्टानभित्र ठोस ‘नली’ जस्ता संरचना बनाएका थिए।

क्युरियोसिटीले हाल देखाएको कोरलजस्तो चट्टानको अनौठो शाखाहरू त्यही नली संरचनाबाट बनेका हुन्, जुन लाखौं वर्षसम्म बालुवायुक्त हावाले घिस्रिएपछि देखापरेका हुन्।

मंगलमा भेटिएका अरू अनौठा चट्टानहरूमा “पापोसो” नाम दिइएको चट्टान पनि पर्छ, जसको आकार करिब २ इन्च (५ सेन्टिमिटर) रहेको छ र सोही जुलाई २४ मा फेला परेको थियो। यस्तै, २०२२ मा गेल क्रेटरमा फोटोग्राफ गरिएको सानो फूलजस्तो चट्टान पनि यस्तै उदाहरण हो।

क्युरियोसिटी सन् २०१२ मा मंगल ग्रहमा अवतरण गरेको हो। यो रोभर रातो ग्रहको दक्षिणी पहाडी क्षेत्र र उत्तरी समथर मैदानको सन्धिमा अवस्थित ‘गेल क्रेटर’ मा अवतरण गरिएको थियो।

नासाको क्यालिफोर्नियास्थित जेट प्रपल्सन ल्याबोरेटरीले नेतृत्व गरेको यस अभियानको उद्देश्य मंगलको सतह अध्ययन गरेर अतीतमा त्यहाँ जीवनको सम्भावना थियो कि थिएन भन्ने प्रमाण खोज्नु हो।

हालसम्म क्युरियोसिटीले ९६ माइल (१५४ किलोमिटर) चौडा गेल क्रेटरको करिब २२ माइल (३५ किलोमिटर) यात्रा गरिसकेको छ। यात्रा बिस्तारै र घुमाउरो छ, किनभने यसले चट्टानमा ड्रिल गरेर नमुना संकलन गर्ने र तथ्याङ्क जम्मा गर्ने कार्य पनि गर्छ।

यो अन्वेषणले मंगल ग्रहमा जीवनको सम्भावना भएको पुष्टि गर्ने थुप्रै प्रमाणहरू भेटाएको छ, जसमध्ये ३.७ अर्ब वर्ष पुराना चट्टानमा पाइएका लामो कार्बन शृङ्खला र कार्बन चक्र भएको संकेत पनि समावेश छन्।

प्रकाशित: २४ श्रावण २०८२, शनिबार

तपाइको प्रतिक्रिया