Technology Khabar २४ श्रावण २०८२, शनिबार
काठमाडौं ।
एआई प्रतिस्पर्धामा ओपनएआईले आफ्ना प्रतिस्पर्धीहरू एन्थ्रोपिक र गुगललाई पछाडि पार्ने रणनीतिमा ठूलो कदम चालेको छ। कम्पनीले अमेरिकी सरकारको केन्द्रीय खरिद निकाय जेनेरल सर्भिसेज एडमिनिस्ट्रेशन (जीएसए) सँग सहमति जुटाएको छ, जसअनुसार अब संघीय निकायहरूले च्याटजीपीटी एन्टरप्राइज सेवा प्रति निकाय वार्षिक १ डलरमा प्रयोग गर्न सक्नेछन्।
टेकक्रन्चका अनुसार यो सहकार्यको घोषणा जीएसएले ओपनएआई, गुगल र एन्थ्रोपिकलाई स्वीकृत एआई सेवा प्रदायक को सूचीमा राखेको भोलिपल्ट आएको हो।
यी कम्पनीहरूले मल्टिपल अवार्ड शेड्युल (एमएएस) मार्फत आफ्ना उपकरण सरकारी निकायहरूलाई दिन पाउनेछन्। यो त्यस्तो प्रणाली हो जसले सरकारी निकायहरूलाई पूर्व-सहमति भइसकेको सम्झौतामार्फत सेवा खरिद गर्न सजिलो बनाउँछ।
हालसम्म अन्य एआई कम्पनीहरूले यति कम मूल्यमा सेवा दिने योजना बनाएका छन् कि छैनन् भन्ने कुरा स्पष्ट छैन। तर जीएसए फेडरल अक्विजिशन सर्भिस का कमिश्नर जोश ग्रुएनबाउमले भनेका छन्, “हामी अन्य अमेरिकी एआई प्रविधि कम्पनीहरूलाई पनि ओपनएआईको उदाहरण पछ्याउन र हामीसँग सहकार्य गर्न प्रोत्साहित गर्छौं।”
टेकक्रन्चले एन्थ्रोपिक र गुगलसँग थप जानकारीको लागि सम्पर्क गरेको बताएको छ।
ओपनएआईले च्याटजीपीटी एन्टरप्राइज मात्र नभई, आफ्ना एडभान्स मोडलहरूको असीमित प्रयोग थप ६० दिनको लागि उपलब्ध गराउने योजना पनि ल्याएको छ। संघीय कर्मचारीहरूले नयाँ सरकारी प्रयोगकर्ताहरूका लागि समुदाय, तथा अनुकूल प्रारम्भिक तालिम स्रोत पनि पाउनेछन्, जसले उनीहरूलाई ओपनएआईका उपकरणहरूसँग परिचित गराउनेछ।
संवेदनशील जानकारी मोडेल प्रशिक्षणमा मिसिन सक्ने डरका कारण सरकारी निकायहरूका लागि डाटा सुरक्षा प्रमुख चिन्ताको विषय हो। टेकक्रन्चले योबारे जीएसएसँग अन प्रिमाइसेज डिप्लोयमेन्ट वा प्राइभेट क्लाउड प्रयोग गरिएको छ कि छैन भन्नेबारे विस्तृत जानकारी मागेको छ।
जीएसएका प्रवक्ताले भने, “सरकारले सुरक्षा-प्रथमिकता नीतिका साथ सतर्क भएर एआई अपनाइरहेको छ। यसले संवेदनशील सूचना सुरक्षित राख्नेछ र सरकारी निकायलाई एआईद्वारा सम्भव हुने कार्यदक्षताबाट लाभ उठाउन दिनेछ।”
ओपनएआईको यो छुट योजना ट्रम्प प्रशासनले आफ्नो एआई एक्शन प्लान सार्वजनिक गरेपछि त्यही समय आएको जसमा डाटा सेन्टर विस्तार र सरकारी प्रक्रियामा थप एआई उपकरण समावेश गर्ने योजना उल्लेख गरिएको छ।
प्रकाशित: २४ श्रावण २०८२, शनिबार