Technology Khabar २१ श्रावण २०८२, बुधबार
काठमाडौं ।
साढे तीन हप्तासम्म कुनै शक्तिशाली सौर्य ज्वालाबिना शान्त देखिएको सूर्य एक्कासी सक्रिय बनेको छ। सूर्यले २४ घन्टाभित्रै तीनवटा एम-श्रेणीका सौर्य ज्वाला प्रक्षेपण गरेको छ।
हालसम्म सूर्यले साना सी-श्रेणीका थुप्रै ज्वाला फालिरहेको भए पनि, अगस्ट ३ तारिख बिहान १०:०१ बजे (ईडीटी) अर्थात् १४:०१ जीएमटीमा भएको एम २.९ श्रेणीको सौर्य ज्वाला जुलाई १२ पछि पहिलो एम-श्रेणीको ज्वाला भएको सोलरह्याम.कमले एक्समा पोस्ट गर्दै जानकारी दिएको छ।
स्पेस डटकमका अनुसार यसले मध्यम स्तरका सौर्य ज्वालाको २२ दिने रोकावट तोडेको छ।
त्यसपछि झन्डै १५ घन्टाभित्रै दुईवटा थप ज्वाला देखिएका छन् — अगस्ट ४ का दिन बिहान १:०५ बजे (ईडीटी) अर्थात् ०५:०५ जीएमटी मा एम२ श्रेणीको र त्यसपछि १:२१ बजे (ईडीटी) अर्थात् ०५:२१ जीएमटी मा एम१.४ श्रेणीको।
यी तीनै ज्वाला एआर ४१६८ नामक सौर्य धब्बा क्षेत्रबाट उत्पन्न भएका हुन्, जसले सप्ताहन्तमा निकै जटिल चुम्बकीय संरचना विकास गरेको बताइएको छ। सौर्य ज्वाला भन्नाले सूर्यको सतहमाथिबाट आउने शक्तिशाली विकिरण विस्फोट हो, जुन सौर्य धब्बा नजिकको चुम्बकीय ऊर्जा अकस्मात् मुक्त हुँदा उत्पन्न हुन्छ।
यी ज्वालाहरूलाई तिनको ऊर्जा स्तरअनुसार ए, बी, सी, एम र एक्स श्रेणीमा वर्गीकृत गरिन्छ, जहाँ हरेक श्रेणी अघिल्लोभन्दा दस गुणा बढी शक्तिशाली हुन्छ। सी-श्रेणीका ज्वाला सामान्य हुन्छन् भने एम-श्रेणीका ज्वाला मध्यम स्तरका मानिन्छन्, जसले कहिलेकाहीं रेडियो सञ्चारमा असर पुर्याउन सक्छन्।
एक्स-श्रेणीका तीव्र ज्वालाले भने व्यापक रेडियो अवरोधदेखि लिएर भू-उपग्रह र पावर ग्रिडहरूमा समेत असर पुर्याउन सक्छ।
स्पेसवेदर डटकमका अनुसार अहिले एआर ४१६८ र एआर ४१६७ दुवै क्षेत्रमा अस्थिर “डेल्टा-श्रेणी” चुम्बकीय क्षेत्र देखिएको छ, जुन शक्तिशाली सौर्य ज्वाला र पृथ्वीमुखी कोरोनल मास इजेक्सन (सीएमई) का लागि जिम्मेवार मानिन्छ।
हालसम्म कुनै ठूला अन्तरिक्ष मौसमीय असर देखिएको छैन, तर एम२.९ श्रेणीको ज्वालाले पृथ्वीतर्फ लक्षित हल्का सीएमई प्रक्षेपण गरेको हुनसक्ने अनुमान गरिएको छ। एक अन्तरिक्ष भौतिकशास्त्रका विद्यार्थी तथा अरोरा चेजर भिन्सेन्ट लेड्भिनाले मोडलिङ अनुसार सो सीएमई अगस्ट ७ को मध्यराततिर (यूटीसी) पुग्न सक्नेछ तर त्यसको पृथ्वीमा असर पर्ने सम्भावना केवल १२ प्रतिशत रहेको छ भनेर एक्समा उल्लेख गरेका छन्।
उनले सोमबार बिहानको एम२ श्रेणीको ज्वालाले अर्को सीएमई पनि उत्पन्न गराएको हुनसक्ने बताएका छन्, जुन ‘स्टिल्थ सीएमई’ अर्थात् पहिचान गर्न गाह्रो हुने, बिस्तारै र निक्कै फिक्का रूपमा बाहिरिने सीएमई हुनसक्छ। “यो एआर ४१६८ क्षेत्रबाट पृथ्वीमुखी दोस्रो सीएमई हो, र अझ धेरै आउन सक्ने सम्भावना छ,” उनले लेखेका छन्।
अन्तरिक्ष मौसमविद् सारा होउस्सिलले आइतबारको ज्वालापछि एक्समा “फ्लेयर ड्रट इज ओभर!” भन्दै प्रतिक्रिया जनाएकी छन्। यद्यपि ती ज्वालाहरू “संभावित रूपमा खास असर पार्ने खालका होइनन्” भन्दै उनले अर्को पोस्टमा केही दिनभित्र गतिविधिमा बढोत्तरी हुन सक्ने संकेत पनि गरेकी छन्।
कमजोर, बिस्तारै बढ्ने सीएमई ट्र्याक गर्न सीमित वास्तविक समयको तस्बिर र उपग्रहहरूको अभावका कारण अन्तरिक्ष मौसम पूर्वानुमान चुनौतीपूर्ण बनेको उनले थपेकी छन्।
अहिले वैज्ञानिकहरू एआर ४१६८ क्षेत्रलाई ध्यानपूर्वक हेरिरहेका छन्। यसको बढ्दो जटिलता र सक्रियता हेर्दा अझै पनि अप्रत्याशित विस्फोटहरू हुन सक्ने संकेत मिलेको छ।
प्रकाशित: २१ श्रावण २०८२, बुधबार