ऐन संसोधनले गर्दा अनिश्चितकालका लागि रोकियो अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको कार्य

Technology Khabar २० श्रावण २०८२, मंगलवार

काठमाडौं ।

सूचना तथा प्रशारण विभागले भोली *बुधबारदेखि लागू हुनेगरी अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य स्थगन गरेको जनाएको छ। विभागले आज सार्वजनिक सूचना प्रकाशित गर्दै ऐन संसोधनको आधारमा यसअघि गर्दै आएको कार्य रोकिएको जानकारी दिएको छ।

विभागले हालै छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा नयाँ संसोधन गरिएको भन्दै सोहीअनुसार आफूले गर्दै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य स्थगन गरेको उल्लेख गरेको छ।

यहि असार १४ गते सरकारले राजपत्रमा केहि नेपाल ऐनलाई संसोधन गर्न बनेको ऐन प्रकाशित गर्दै छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा नयाँ संसोधन गरेको छ।

उक्त संसोधनले हालसम्म विभागले गर्दै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्यको बारेमा कुनै जिम्मेबारी नतोकिएको भन्दै हालका लागि ति कार्यहरु स्थगन गरिएको विभागका एक उच्च अधिकारीले जानकारी दिए।

उनकाअनुसार ऐन संसोधन भएको जानकारी आजै पाईएको हुँदा उक्त विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छलफल गरेरनै सूचना प्रकाशित गरिएको हो।

“आज अबेरसम्म अनलाइनमार्फत आएका सबै निवेदनहरुको कार्य सकेका छौं। ऐन संसोधनको जानकारी पाएसँगै दर्ता र नवीकरणको कार्य स्थगित गरेका हौं,” उनले भने।

नयाँ संसोधित ऐनले “अनलाइन सञ्चारमाध्यम दर्ता, सञ्चालन, नवीकरणसम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ” भन्ने उल्लेख गरेको छ। जसले गर्दा विभागले हाल गर्दै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य स्थगित भएको हो।

यस्तो छ सूचना-

के छ संसोधित ऐनमा ?

नेपाल सरकारद्वारा नेपाल राजपत्रको खण्ड ७५ अतिरिक्ताङ्ग २१ भाग २ मिति २०८२/०४/१४ मा प्रकाशित सूचनाअनुसार केहि नेपाल ऐनलाई संसोधन गर्न बनेको ऐनमार्फत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संसोधन गरि नयाँ व्यवस्था गरिएको छ। जसमा निम्न विषय उल्लेख छ-

छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ को (१) दफा २ को खण्ड (च) पछि देहायको खण्ड (च१) थपिएको छः- ” (च१) “अनलाइन सञ्चारमाध्यम” भन्नाले प्रचलित कानून बमोजिम स्थापना वा दर्ता भई इन्टरनेटको माध्यमबाट सङ्केत, चिन्ह, आवाज, ग्राफिक्स, भिडियो, एनिमेशन तथा मल्टिमिडियाको प्रयोगमार्फत सन्देशमूलक वा विषयगत विचार, सूचना तथा समाचार, तस्बिर, श्रव्य, श्रव्यदृश्यको रूपमा उत्पादन, प्रकाशन, प्रसारण वा वितरण गर्ने संस्था वा माध्यम सम्झनु पर्छ ।”

यस्तै दफा ७क. पछि देहायको दफा ७ख. थपिएको छः-

७ ख. अनलाइन सञ्चारमाध्यम दर्ता गर्नु पर्नेः (१) अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहने व्यक्तिले त्यस्तो सञ्चार माध्यम दर्ता गर्नका लागि तोकिएको दस्तुरसहित तोकिएको ढाँचामा स्थानीय अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम प्राप्त निवेदन उपर स्थानीय अधिकारीले आवश्यक जाचँबुझ गरी दर्ता गर्न उपयुक्त देखिएको अनलाइन सञ्चारमाध्यम दर्ता गर्न सक्नेछ ।

(३) अनलाइन सञ्चारमाध्यम दर्ता, सञ्चालन, नवीकरणसम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

संसोधिन ऐनमा “अनलाइन सञ्चारमाध्यम दर्ता, सञ्चालन, नवीकरणसम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने” व्यवस्था राखिएसँगै विभागले आजसम्म गर्दै आएको कार्य स्थगित भएको सूचना प्रकाशित गरेको हो।

यसले गर्दा अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य रोकिएको हो।

यस विषयका जानकार एक सरकारी अधिकारीकाअनुसार संसोधित ऐनअनुसार नियमावलीमासमेत संसोधन गर्नुपर्ने हुन्छ र सोहीअनुसार काम गर्ने निकाय र जिम्मेबारी तोकिनुपर्नेछ।

“नियमावली संसोधन गर्ने विषय मन्त्रालयमा छलफलमा आएको छ तर यसलाई कति समय लाग्छ भन्ने स्पष्ट छैन्,” ती अधिकारीले भने, “नियमावली बनाएर सरकारले पास गरेपछि मात्र नयाँ प्रावधान लागू हुन्छ। त्यसबेलासम्म दर्ता र नवीकरणको कार्य रोकिनेछ।”

उक्त नियमावली नआएसम्म अनलाइन दर्ता र नवीकरणको कार्य अनिश्चितकालका लागि रोकिने उनले बताए।

यस बारेमा थप जानकारीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरलाई बेलुका अबेर मोबाइलमा सम्पर्क गर्दा फोन उठेन्। उनीसँग सम्पर्क भएसँगै यस बारेमा थप अपडेट गर्नेछौं।

*बुधबार हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ।

प्रकाशित: २० श्रावण २०८२, मंगलवार

तपाइको प्रतिक्रिया