Technology Khabar २० श्रावण २०८२, मंगलवार
काठमाडौं ।
सेग्वे–नाइनबोटको नेपालका अधिकृत वितरक आइहब प्रा.लि.ले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी गरेको छ।
काठमाडौंको भृकुटीमण्डपमा भोलि साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६ देखि १०) आयोजना हुने यो पाँच दिने एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहनेछ जसमा सेग्वेका नयाँ मोडेल प्रमुख आकर्षण हुने अपेक्षा गरिएको आयोजकको भनाई छ।
कम्पनीका अनुसार यस पटक नेपाली बजारका लागि ल्याउन लागिएका मोडेलहरूमा दुई ई–स्कूटर (‘ई१५० एमके२’ र ‘ई१२५ एमके२’), एक ई–बाइक (‘जाइबर’) र एक ई–साइकल (‘जाफारी’) समावेश छन्। यी मोडेलहरू शहरी दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुने गरी डिजाइन गरिएको छ।
‘सेग्वे ई१५० एमके२’ मा ७५०० वाट मोटर र दुईवटा १९४४ वाट–आवर ब्याट्री रहेको छ, जसले अधिकतम ९० कि.मी. प्रति घण्टा गति लिन सक्छ र ७५ देखि १२० कि.मी. सम्म यात्रा गर्न सक्छ।
‘सेग्वे ई१२५ एमके२’ मा ३६०० वाट मोटर र १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले ७० कि.मी. प्रति घण्टासम्मको गति लिन सक्छ र ६० देखि १०० कि.मी. सम्मको रेञ्ज दिन्छ।
‘सेग्वे जाइबर ई–बाइक’ मा ३००० वाट हब मोटर र १४४० वाट आवर लिथियम ब्याट्री रहेको छ। यसले अधिकतम ३२ कि.मी. प्रतिघण्टा गति लिन सक्छ र ७७ कि.मी. सम्म चल्न सक्छ। यो मोडेल दैनिकी र हल्का साहसिक यात्रु दुवैका लागि उपयुक्त मानिन्छ।
‘सेग्वे जाफारी ई–साइकल’ मा ७५० वाट मोटर, ९३६ वाट–आवर ब्याट्री रहेको छ, जसले अधिकतम ३२ कि.मी./घण्टा गति लिन सक्छ र ५८ कि.मी. सम्म चल्न सक्छ। साथै, यसमा रहेको २५ केजी रियर क्यारियर क्षमता दैनिक प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।
यी चार मोडेलको लन्चसँगै नेपालमा सेग्वेको विद्युतीय सवारी साधनको उपस्थिति अझ मजबुत हुने कम्पनीले अपेक्षा गरेको छ। यसले प्रदर्शन, सहजता र दिगोपनलाई एकसाथ प्रस्तुत गर्नेछ, जसले नेपाली यात्रुहरूलाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्री विकल्प उपलब्ध गराउनेछ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भोलिदेखि (अगस्ट ६) सुरु हुँदैछ, र यस वर्षको प्रमुख आकर्षणमध्ये सेग्वेका यी नयाँ मोडेल रहने निश्चित भएको छ। मूल्य र उपलब्धताको जानकारी भने एक्स्पोको क्रममा आधिकारिक रूपमा सार्वजनिक गरिनेछ।
सेग्वे व्यक्तिगत यातायात साधन प्रदान गर्ने विश्वस्तरको कम्पनी हो। करिब दुई दशकभन्दा बढी अनुभवसहित सेग्वेले हाल ८० भन्दा बढी मुलुकहरूमा आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको छ।
यसको सहायक कम्पनीहरू बेइजिङ, सियाटल, लस एन्जलस, आम्स्टरड्याम, सिओल, सिंगापुरलगायत प्रमुख शहरहरूमा रहेका छन्। सेग्वे–नाइनबोटले प्रयोगकर्तालाई प्रविधिमैत्री र भविष्यमुखी सवारी साधन उपलब्ध गराउने उद्देश्यसहित निरन्तर नयाँ उत्पादन विकास गरिरहेको छ।
प्रकाशित: २० श्रावण २०८२, मंगलवार