वैदेशिक रोजगारसम्बन्धी विज्ञापन अब अनिवार्य रूपमा श्रम संसार पोर्टल र एपमा प्रकाशन गर्नुपर्ने

Technology Khabar २० श्रावण २०८२, मंगलवार

काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण विज्ञापनहरू अबदेखि अनिवार्य रूपमा “श्रम संसार रोजगार पोर्टल” (https://shramsansar.gov.np) तथा “श्रम संसार एप” मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ।

मंगलबार विभागद्वारा जारी गरिएको सूचनामा वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२(३) तथा वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ७ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशनको प्रावधान यथावत रहने उल्लेख छ। तर यससँगै विज्ञापन अब “श्रम संसार पोर्टल” वा “श्रम संसार एप” मा पनि अपलोड गर्न अनिवार्य गरिएको छ।

विभागले यो व्यवस्था कार्यान्वयन गर्नाले वैदेशिक रोजगारका अवसरहरूबारे नागरिकले सजिलै, पारदर्शी र विश्वसनीय जानकारी प्राप्त गर्न सक्ने जनाएको छ। श्रम संसार पोर्टललाई नागरिक एपसँग समन्वय गरी सञ्चालनमा ल्याइएको हुँदा, अब नागरिक एपमार्फत पनि सजिलै विज्ञापन हेर्न र प्रमाणीकरण गर्न सकिनेछ।

पहिले विज्ञापन केवल राष्ट्रिय दैनिकमा प्रकाशन गर्दा नागरिक एपमार्फत तथ्य प्रमाणीकरण गर्न समस्या हुने गरेको उल्लेख गर्दै विभागले त्यसको विकल्पस्वरूप अनलाइन प्रणालीलाई अनिवार्य बनाएको स्पष्ट पारेको छ।

विभागले सबै वैदेशिक रोजगार व्यवसायीहरूलाई अबदेखि विज्ञापन प्रकाशित गर्दा पोर्टल वा एपमा अनिवार्यरूपमा अपलोड गर्न र सम्पूर्ण विवरण समावेश गर्न आग्रह गरेको छ। यदि यथोचित रूपमा विज्ञापन अपलोड नगरिएको खण्डमा, विज्ञापन अपूर्ण ठहरिने र नियमानुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ।

यो नयाँ अनिवार्य व्यवस्था श्रावण १३ गतेदेखि पूर्ण रूपमा लागू भइसकेको विभागले स्पष्ट गरेको छ। साथै, अबदेखि अनलाइनमा विज्ञापन अपलोड नगरिएको अवस्थामा सम्बन्धित रोजगार व्यवसायीविरुद्ध कानूनी कारबाही गरिने पनि विभागको सूचनामा उल्लेख छ।

यस कदमलाई वैदेशिक रोजगार प्रक्रियालाई पारदर्शी, समावेशी र प्राविधिक आधुनिकताको दिशामा उन्मुख गराउने प्रयासको रूपमा हेरिएको छ।

प्रकाशित: २० श्रावण २०८२, मंगलवार

तपाइको प्रतिक्रिया