पाँचपोखरी गाउँपालिकामा टेलिमेडिसिन सेवा शुरु, प्रधानमन्त्रीद्वारा उद्घाटन

  • Technology Khabar | १८ श्रावण २०८२, आईतवार
पाँचपोखरी गाउँपालिकामा टेलिमेडिसिन सेवा शुरु, प्रधानमन्त्रीद्वारा उद्घाटन

काठमाडौं ।

सिन्धुपाल्चोकको पाँचपोखरी प्राथमिक अस्पतालमा टेलिमेडिसिन सेवा सुरु भएको छ। बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सहयोगमा, पाँचपोखरी थाङ्पाल गाउँपालिका, भक्तपुर अस्पताल र अन्य साझेदार संस्थाको सहकार्यमा सुरु गरिएको हो। सेवाको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरे।

कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, पूर्वसंस्कृति, पर्यटन तथा वनमन्त्री तथा बागमती प्रदेश सभा सदस्य सुरेश नेपाल, पूर्वजुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ तथा पाँचपोखरी प्राथमिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीले सेवाबारे आआफ्नो धारणा राखेका थिए।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले टेलिमेडिसिन सेवा सञ्चालनका लागि समन्वय गरेका हुन्। पाँचपोखरी थाङ्पाल गाउँपालिका विकासको दृष्टिले अझै विकट क्षेत्र मानिन्छ।

यो कार्यक्रमबाट स्थानीय बासिन्दाले आधुनिक स्वास्थ्य सेवा सजिलै प्राप्त गर्न सक्ने अवस्था सिर्जना भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिइन्।

पाँचपोखरी गाउँपालिका अझै पनि पक्की सडकको पहुँचमा छैन। यस्तो दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा पुग्नु ऐतिहासिक उपलब्धि भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन्।

अबदेखि भक्तपुर अस्पतालका चिकित्सकले पाँचपोखरीका बिरामीलाई भर्चुअल रूपमा सेवा दिन सक्ने छन्। यसले टाढा रहेका बिरामी र चिकित्सकबिचको दुरीलाई हटाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १८ श्रावण २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...