Technology Khabar १५ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
-डा. नवराज हेका
शिक्षाको दुनियाँमा जेनेरेटिभ एआई जस्ता आर्टिफिसियल इन्टेलिजेन्स एआई उपकरणको आगमनले शिक्षालाई एक नयाँ मोडतर्फ लैजाँदै छ। यसले व्यक्तिगत रूपमा सिकाइलाई सजिलो बनाउने, फरक फरक विद्यार्थीको आवश्यकतालाई बुझेर समर्थन गर्ने सम्भावना देखाएको छ तर यति तीव्र रूपमा भित्रिएको यो प्रविधिले शिक्षकलाई गम्भीर चुनौतीको सामना गराइरहेको छ।
धेरै शिक्षक अझै पनि यस प्रविधिबारे राम्रो जानकारी नभएको, आवश्यक तालिम नपाएको र संस्थागत सहायताको गम्भीर अभावमा रहेका बताउँछन्।
शिक्षकमा दबाब र अन्योल
शिक्षकमा अहिलेको मुख्य चिन्ता भनेको एआईप्रति पूर्ण जानकारी नहुनु र यसलाई आफ्नो शिक्षण पद्धतिमा कसरी प्रयोग गर्ने भन्ने अन्योलताका कारण बढ्दो मानसिक दबाब हो।
प्रविधि द्रुत रूपमा विकास भइरहेका बेला अद्यावधिक भइरहनु उनीहरूका लागि निकै कठिन काम बनेको छ। काठमाडौँको एक कलेजमा गरिएको एउटा अध्ययनले केही ठुला चुनौती उजागर गरेको छ।
जस्तै एआईसम्बन्धी जानकारी अद्यावधिक गर्ने कुनै जिम्मेवार व्यक्ति वा समूह नभएकाले शिक्षकले व्यक्तिगत प्रयासमा भर पर्नु परेको छ। एआई तालिमका लागि शिक्षकहरूले कुनै बजेट वा अनुदान पाएका छैनन्।
विद्यार्थीका लागि केही निर्देशन भए पनि शिक्षकले एआईलाई आफ्नो शिक्षणमा कसरी जिम्मेवारीपूर्वक प्रयोग गर्ने भन्नेबारे कुनै स्पष्ट मार्गदर्शन पाएका छैनन्।
यसले शिक्षक र विद्यार्थीबिच ज्ञानको ठुलो अन्तर सिर्जना गर्ने खतरा बोकेको छ। शिक्षकहरू प्रविधिमा पछाडि परे भने कक्षाकोठामा शृङ्खला कायम राख्न गाह्रो हुन सक्छ, किनभने विद्यार्थी छिट्टै नयाँ उपकरणहरू प्रयोग गर्न सक्षम हुन्छन्।
विद्यार्थीको गलत प्रयोग
शिक्षक र विद्यार्थी दुवैले एआई प्रविधिको सीमितता र सम्भावित खतरा बुझ्नुपर्ने हुन्छ। कहिलेकाहीँ एआईले सत्यजस्तो लाग्ने तर गलत जानकारी दिन सक्छ भने निर्देश अनुसार नचल्ने एआईको सम्भावना रहन्छ।
यस्तै सैद्धान्तिक रूपमा नियन्त्रणबाहिर गएर एआईले अनपेक्षित निर्णय लिने अवस्था आउन सक्छ। गलत वा सीमित डेटा प्रयोगले गर्दा कमजोर समूहप्रति यसले विभेद गर्न सक्ने हुन्छ।
एउटै सोचमा सीमित भएर फराकिलो दृष्टिकोण गुमाउनु अवस्था रहन्छ। यससँगै विद्यार्थीले एआईको अत्यधिक र जथाभ प्रयोग गर्ने डर पनि उत्तिकै छ। एआईले सजिलो तरिकाले जवाफ दिने शिक्षामा एआईको सम्भावना अपार छ तर यसलाई जिम्मेवारीपूर्वक र प्रभावकारी रूपमा उपयोग गर्नका लागि शिक्षकलाई निरन्तर, गहन र बहुआयामिक तालिम आवश्यक छ।
भएकाले विद्यार्थी आफैँ सोच्न र सिक्न चाहँदैनन्, जसले शिक्षाको गुणस्तर र मौलिकता दुवैमा असर पुऱ्याउँछ।
समाधानका तीन स्तम्भीय रणनीति
यी समस्या समाधान गर्नको लागि तीन वटा मुख्य सिप विकास गर्न आवश्यक छ। पहिलो एआई साक्षरता आवश्यक छ। शिक्षक र विद्यार्थी दुवैले एआई प्रविधिको काम गर्ने तरिका, यसको सामाजिक र नैतिक प्रभाव बुझ्नु पर्छ। केवल प्रयोग मात्र होइन, यसको बनावट र सम्भावित जोखिमबारे पनि सचेत हुनु जरुरी छ।
दोस्रो प्रम्प्ट इन्जिनियरिङ एआईलाई कसरी सोध्ने भन्ने रणनीति सिक्नु पर्छ। राम्रो प्रम्टले एआईबाट सटिक र उपयोगी जवाफ निकाल्न सहयोग गर्छ। जेरो सट, फिउ सट, चेन अफ ठट, सेल्फ कनसिस्टेन्सी जस्ता तरिकाको प्रयोग सिकिनु पर्छ।
तेस्रो आलोचनात्मक सोच राख्नु पर्छ। विद्यार्थी र शिक्षक दुवैले तथ्यहरू परीक्षण गर्ने, विभिन्न दृष्टिकोण मूल्याङ्कन गर्ने र तार्किक सोच विकास गर्ने क्षमता बढाउनु पर्छ। एआईलाई विचारपूर्ण छलफलको माध्यम बनाउनु आवश्यक छ।
शिक्षामा ‘एआई’ संस्कृति
यी चुनौतीको दीर्घकालीन समाधान भनेको शिक्षामा एआई संस्कृति विकास गर्नु हो। एआईका आधारभूत सिद्धान्त, नैतिकता र प्रयोगलाई सबै कक्षामा समावेश गर्ने।
नियमित वर्कशप, सेमिनार र सूचना सत्रमार्फत शिक्षकलाई अपडेट राख्ने। तालिमका लागि बजेट छुट्याउनु पर्छ। शिक्षकको सिप विकासमा लगानी गर्न कोषको व्यवस्था गर्ने।
यस्तै शैक्षिक संस्थामा एआईसम्बन्धी मार्गदर्शन गर्न विशेषज्ञ राख्नु पर्छ। सबै विषयमा एआईको समावेशी प्रयोग गरिनु पर्छ। एआईप्रति सामान्य बानी र ज्ञान विकासका लागि प्रत्येक विषयमा प्रयोगलाई प्रोत्साहन गर्ने।
यसै गरी शिक्षकका लागि स्पष्ट दिशानिर्देश हुनु पर्छ। विद्यार्थी जस्तै शिक्षकका लागि पनि जिम्मेवार प्रयोगका लागि निर्देशन बनाउनु पर्छ। सहकार्यमा आधारित शिक्षण विधि बनाएर विद्यार्थी शिक्षक मिलेर एआई प्रयोग गर्न सिक्ने वातावरण बनाउनु जरुरी छ।
समस्या समाधानका खुला मञ्चका रूपमा एआईसँग सम्बन्धित समस्या, सुझाव र प्रयोगबारे छलफल गर्न खुला प्लेटफर्म बनाउन उपयुक्त हुन्छ। नैतिकता र केस स्टडीमा जोड दिएर वास्तविक जीवनका केसबाट एआई प्रयोगका नैतिक पक्ष बुझाउने गर्नु पर्छ।
शिक्षामा एआईको सम्भावना अपार छ तर यसलाई जिम्मेवारीपूर्वक र प्रभावकारी रूपमा उपयोग गर्नका लागि शिक्षकलाई निरन्तर, गहन र बहुआयामिक तालिम आवश्यक छ। एआईको प्रयोग केवल सुविधा होइन, शिक्षाको नैतिकता, समान पहुँच र गहिरो सोचलाई प्रवर्धन गर्ने एक अवसर पनि हो। जसलाई हामीले सदुपयोग गर्न जान्नु पर्छ।
आजको गोरखापत्रबाट
प्रकाशित: १५ श्रावण २०८२, बिहीबार