Technology Khabar १४ श्रावण २०८२, बुधबार
काठमाडौं ।
मंगलबार राति (जुलाई २९) फ्लोरिडाबाट प्रक्षेपण भएको स्पेसएक्सको फल्कन ९ रकेटमार्फत थप २८ वटा स्टारलिंक उपग्रहहरू पृथ्वीको कक्षमा पुगेका छन्।
स्थानीय समयअनुसार राति ११:३७ बजे (०३:३७ जीएमटी, जुलाई ३०) फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनस्थित स्पेस लञ्च कम्प्लेक्स ४० (एसएलसी-४०) बाट रकेट प्रक्षेपण गरिएको हो। नौ मिनेटको उडानपछि ती २८ वटा स्टारलिंक ब्रोडब्यान्ड इन्टरनेट उपग्रहहरू (ग्रुप १०-२९) लक्ष्यित कक्षमा प्रक्षेपणको तयारीमा थिए।
रोयटर्सका अनुसार यो प्रक्षेपण फाल्कन ९ रकेटको पहिलो चरण (बी१०६९) को २६ औं उडान हो। उक्त रकेट सफलतापूर्वक एटलान्टिक महासागरमा राखिएको स्पेसएक्सको ड्रोनसिप “जस्ट रिड द इन्स्ट्रक्सन्स” मा अवतरण गराइएको थियो।
यी २८ उपग्रहहरू थपिएपछि स्पेसएक्सको लो अर्थ अर्बिट (एलईओ ) मा रहेको मेगाकन्स्टलेसनमा अब ८,०५० भन्दा बढी सक्रिय उपग्रह पुगेका छन्। सन् २०१८ यता प्रक्षेपण गरिएका ९,३०० भन्दा बढी उपग्रहमध्ये यति संख्या सक्रिय छन्, भनेर उपग्रह अनुगमनकर्ता जोनाथन म्याडवेलले जनाएका छन्।
यो प्रक्षेपण स्पेसएक्सको यो वर्षको ९६ औं मिसन हो, जसमा तीन बाहेक सबै फल्कन ९ रकेटमार्फत गरिएको हो। कम्पनीले यसै हप्ता दुई थप प्रक्षेपण गर्ने योजना बनाएको छ। यो योजना बुधबार (जुलाई ३०) क्यालिफोर्नियाबाट अर्को स्टारलिंक मिसन र बिहीबार नासाको केनेडी स्पेस सेन्टरबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनतर्फ क्रू-११ अन्तरिक्ष यात्रीहरूको प्रक्षेपण गर्नु हो।
प्रकाशित: १४ श्रावण २०८२, बुधबार