डिजिटल डिटक्स के हो? आजको प्रविधि र ग्याजेटबिना कल्पनै गर्न नसकिने दैनिकीमा यो किन आवश्यक छ?

Technology Khabar १३ श्रावण २०८२, मंगलवार

डिजिटल डिटक्स के हो? आजको प्रविधि र ग्याजेटबिना कल्पनै गर्न नसकिने दैनिकीमा यो किन आवश्यक छ?
फ्रीपिक डटकममार्फत्

काठमाडौं ।

सामान्यतया: डिजिटल डिटक्स भन्नाले निश्चित समयका लागि सबै प्रकारका डिजिटल उपकरणहरू (जस्तै: स्मार्टफोन, ट्याब्लेट, कम्प्युटर, टेलिभिजन) तथा सामाजिक सञ्जाल, गेम, च्याट, इन्टरनेट आदि प्रयोगबाट टाढा रहने प्रक्रिया वा अभ्यासलाई बुझिन्छ।

यसको उद्देश्य मानसिक विश्राम लिनु, स्क्रिनमा बिताउने समय घटाउनु, र वास्तविक जीवन (जस्तै: परिवार, मित्र, प्रकृति, पढाइ, सिर्जनात्मक गतिविधि) सँग पुनः सम्पर्क स्थापित गर्नु हो।

अर्को भाषामा भन्ने हो भने डिजिटल डिटक्स भन्नाले व्यक्तिगत वा सामाजिक कल्याणका लागि निश्चित अवधिसम्म डिजिटल उपकरण र इन्टरनेट सेवाबाट टाढा रही शारीरिक, मानसिक तथा सामाजिक सन्तुलन कायम राख्ने अभ्यास हो।

समयसँगै हामी डिजिटल उपकरणहरूमा यति धेरै भर परिरहेका छौं कि अहिले त ती उपकरणहरूबाट टाढा बस्न पनि एप्सको आवश्यकता पर्ने भएको छ। यही कारणले अहिले डिजिटल डिटक्स एप्सको चर्चा भइरहेको छ। जानौं यी एप्सले कसरी काम गर्छन् र डिजिटल डिटक्सका लागि हामीले के गर्नुपर्छ।

आईओएस र एन्ड्रोइड फोनमा चल्ने धेरैजसो डिजिटल डिटक्स एपहरू एप स्टोरमा उपलब्ध छन्।

यी त्यस्ता विशेष एपहरू हुन् जसले स्क्रिन टाइम घटाउन र डिजिटल उपकरणमा निर्भरता कम गर्न सहयोग गर्छन्। यसको उद्देश्य हो: तपाईंलाई फोनको स्क्रिनबाट हटाएर वास्तविक जीवनसँग जोड्नु।

गुगल प्ले स्टोरमा डिजिटल डिटक्स एपबारे लेखिएको छ: “आफ्नो फोनसँगको मित्रता कम गर्नुहोस् ताकि फेरि आफूसँग, अरूसँग र संसारसँग जोडिन सक्नुहोस्।” त्यहाँ यो पनि लेखिएको छ: “के तपाईं सधैं फोनमै रहनुहुन्छ? के तपाईंलाई संसारबाट टाढा हुने डर छ? के नेटवर्क नपाउँदा तपाईं डराउनुहुन्छ? यदि हो भने, अब डिटक्सको समय आएको छ।”

यी एपहरू मूलतः केही समयका लागि फोनलाई बन्द गरिदिन्छन्। यो समय १० मिनेटदेखि १० दिन, एक महिना वा अझ बढी हुन सक्छ। फोन कति समय बन्द राख्ने भन्ने तपाईं आफैंले तय गर्न सक्नुहुन्छ। यो अवधिमा सबै सामाजिक सञ्जाल एपहरू बन्द हुन्छन् र केवल आपतकालीन फोन कल मात्र गर्न मिल्छ।

केही एपहरूले फोन कलको अनुमति दिन्छन् भने केहीले कलमा पनि समय सीमा तोक्छन्। यद्यपि, डिजिटल डिटक्स एप चयन गर्दा सावधानी अपनाउनु जरुरी हुन्छ।

डिजिटल डिटक्स एपले कसरी काम गर्छन्?

बीबीसीहिन्दीका अनुसार एपहरूले निश्चित समयका लागि तपाईंको मोबाइल फोन बन्द गरिदिन्छन्। तर केही एपहरूले तपाईंलाई रोज्ने सुविधा पनि दिन्छन् — कुन सामाजिक सञ्जाल एपहरू बन्द गर्ने र कुन नगर्ने।

उदाहरणका लागि बिदाको दिन एक प्रयोगकर्ताले केही समयका लागि फोनबाट ब्रेक लिने निर्णय गरे। एउटा एपको सहायता लिएर करिब तीन घण्टाका लागि फोनलाई डिटक्स मोडमा राखे। तर बानी अनुसार त्यो अवधिमा म एक-दुई पटक फोन उठाए। स्क्रिनमा केही सुझावात्मक सन्देशहरू देखिन्थे, जस्तै:

  • तपाईं हिँड्न जान सक्नुहुन्छ।
  • तपाईं आफ्नो मनपर्ने खाना बनाउन सक्नुहुन्छ।
  • तपाईं परिवारसँग बसेर चिया खाँदै समय बिताउन सक्नुहुन्छ।
  • तपाईं बगैँचाको काम गर्न सक्नुहुन्छ।
    यस्ता धेरै सन्देशहरू स्क्रिनमा देखिँदै गए, अनि उनले फोन राखिदिए। उनका अनुसार साँचो भन्नुपर्दा, त्यो दिनका ती तीन घण्टा दिनका सबैभन्दा सार्थक घण्टा सावित भए। मन र मस्तिष्कलाई अलिक विश्राम मिल्यो र शान्ति महसुस भयो। वास्तवमा, डिजिटल डिटक्स एपहरूले फोन प्रयोगलाई अत्यावश्यक कामसम्म सीमित गरिदिन्छन्।

डिजिटल डिटक्स किन आवश्यक छ?

अंग्रेजी पत्रिका द हिन्दू को एक रिपोर्ट अनुसार, भारतमा ८६ प्रतिशत वयस्कहरूसँग स्मार्टफोन छन् र तिनमध्ये ३० प्रतिशत मानिसहरू दैनिक करिब ६ घण्टा स्क्रिनमा बिताउँछन्। चाहे साथीहरूसँग जोडिन होस्, वा सोशल मिडिया, युट्युब वा गेमिङ साइटहरूमा रमाउन नै किन नहोस्। नेपालमा पनि इन्टरनेट तथा स्मार्टफोन र स्मार्ट ग्याजेट प्रयोगकर्ताको सङ्ख्या उल्लेख्य छ।

रेडसियर स्ट्राटेजी को २०२४ को एक रिपोर्ट अनुसार, भारतमा औसत स्क्रिन टाइम ७.३ घण्टा रहेको छ। विशेषज्ञहरूले अत्यधिक स्क्रिन टाइमलाई शारीरिक र मानसिक स्वास्थ्यका लागि खतरनाक मान्छन्। फ्यामिली साइकोलोजिस्ट जसलीन गिल भन्छिन्, “हामी आफ्नै घरमा परिवारसँग बस्दा पनि आफैलाई एक्लो बनाइसकेका छौं।”

उनी भन्छिन्, “मान्छेको स्वभाव एक्लोपनमा बिताउने होइन, समाजमा बस्ने हो। समाजको सुरुवात पनि मानिसको मिलेर बस्ने प्रवृत्तिबाट भएको थियो। बेकारको स्क्रिन टाइमले हामीलाई सीमित बनाइरहेको छ। हामी आफ्ना नजिकका मानिसहरूसँग कुरा गर्नुभन्दा फोनमै समय बिताउन रुचाउँछौं।”
जसलीन भन्छिन्, “दिमागसँग सम्बन्धित धेरै रोगहरू एक्लोपनसँग सम्बन्धित छन्। जब तपाईं आफ्ना पीडा वा समस्याहरू कसैसँग बाँड्नुहुन्न र यस्तो अवस्थामा एआईजस्ता प्रविधिहरूमा निर्भर हुनुहुन्छ भने त्यो अवस्था मानसिक रोगमा परिणत हुन सक्छ।”

उनका अनुसार मानव विकास आपसी संवाद, अनुभव र विचार आदान–प्रदानसँग सम्बन्धित छ, जुन अहिले निकै कम भइसकेको छ।
‘स्वस्थ मस्तिष्क र स्वस्थ शरीर’ सबैभन्दा महत्वपूर्ण छ। “मानव मस्तिष्क यति शक्तिशाली छ कि यो एक स्वस्थ व्यक्तिलाई बिरामी बनाउन सक्छ। र यदि कोही बिरामी छ भने, उसले आफ्नै आत्मशक्तिबाट सुधारतर्फ अघि बढ्न सक्छ”, उनले भनिन्, “तर यदि एक्लोपन लामो समयसम्म रह्यो भने, त्यो दिन टाढा छैन जब मानिसहरू मानसिक रोगसँगै शारीरिक रोगको पनि शिकार हुनेछन्।”

प्रकाशित: १३ श्रावण २०८२, मंगलवार

तपाइको प्रतिक्रिया