
काठमाडौं ।
काठमाडौं नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन (ईभी) बजारमा सशक्त पहिचान बनाइसकेको लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोर्थिङ’ लाई नेपाली बजारमा ल्याउने घोषणा गरेको छ।
नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ तीव्र बनाउने दिशामा यो एक महत्वपूर्ण कदम मानिएको छ। फोर्थिङको पहिलो मोडल नेपाली बजारमा श्रावन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हने नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघको राष्ट्रिय अटो प्रदर्शनी नाइमा २०२५ मार्फत सार्वजनिक गरिनेछ।
लक्ष्मी ग्रुप – सन् १९७३ देखि नेपालमा व्यापारिक गतिविधि गर्दै आएको बहुआयामी र पुरानो व्यापारिक घराना हो—देशको अटोमोबाइल क्षेत्रको विकासमा अग्रणी भूमिका खेलेको छ । लक्ष्मी ग्रुपले विगतका दशकहरूमा अटोमोबाइल व्यापारमा आफ्नो उपस्थिति विस्तार गर्दै हुण्डाई, बीएमडब्लू, केई, एसएमएल इसुजुजस्ता विश्वविख्यात ब्रान्डहरू मार्फत यात्रुवाहक र मालवाहक गाडी तथा अटो पार्ट्स वितरण गर्दै आएको छ। अब यसै यात्रामा फोर्थिङ पनि थपिन लागेको छ।
सन् २०२४ को मे महिनामा, लक्ष्मी ग्रुपले नेपालकै पहिलो फोर- ह्वीलर गाडी एसेम्ब्ली प्लान्ट लक्ष्मी मोटर कर्पोरेशन (एलएमसी)—रामग्राम, परासी (नवलपरासी) मा सञ्चालनमा ल्याएको छ।
हुण्डाई गाडीहरूका लागि बनाइएको यो अत्याधुनिक एसेम्ब्ली प्लान्टले नेपालको अटोमोबाइल औद्योगिकीकरणमा ऐतिहासिक फड्को मारेको कम्पनीको दावी छ। लक्ष्मी समूह यस्तो सुविधा सञ्चालन गर्ने पहिलो नेपाली समूह बनेको छ।
त्यसैगरी, ग्राहकको सहजता र ईभी पूर्वाधार सुदृढ पार्न लक्ष्मी समूहले री-ल्याक्स नामक ६३ भन्दा बढी रिचार्ज नेटवर्क र रिपेयर स्टेसनहरूको सञ्जाल देशभर फैलाएको छ, जसले नेपालमा इलेक्ट्रिक गाडी प्रयोगलाई थप सरल र भरपर्दो बनाएको छ।
विश्वव्यापी रूपमा स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको फोर्थिङ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक एसयूभीसँग आफ्नो सुरुवात गर्दैछ।
कम्पनीका अनुसार यो गाडीले प्रदर्शन, प्रविधि र आधुनिक डिजाइनलाई समेट्दै नेपाली ग्राहकको बदलिंदो आवश्यकतामा केन्द्रित समाधान दिन्छ।
गाडीको औपचारिक उद्घाटन नाइमा २०२५ मा गर्ने कम्पनीको योजना छ।
६४.४ किलोवाट आवर ब्याट्री, ९९ किलोवाट मोटर पावरसहितको यो एसयूभीले ४०० किलोमिटर भन्दा बढीको दूरी तय गर्न सक्ने अनुमान गरिएको छ, जसले गर्दा यो सहर भित्रको यात्रादेखि लामो दूरीका लागि समेत उपयुक्त विकल्प बन्छ।
पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले सहज र छरितो ड्राइभिङ अनुभव दिनेछ भने भित्री डिजाइनमा आराम, प्रयोग सहजता र स्मार्ट प्रविधिलाई विशेष ध्यान दिइएको छ।
“फोर्थिङ केवल गाडी होइन, यो भविष्यको मोबिलिटीप्रतिको हाम्रो दृष्टिकोण हो,” लक्ष्मी ई – मोबिलिटीका प्रवक्ताले भने। “हामी नेपाली उपभोक्तालाई विश्वस्तरीय इलेक्ट्रिक प्रविधिमा पहुँच दिने लक्ष्यसहित फोर्थिङ को ब्रान्ड ल्याउँदैछौं, त्यो पनि लक्ष्मीको विश्वासिलो इतिहासको साथ।”
नाइमा २०२५ नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी बन्ने लक्ष्यका साथ आयोजना हुँदैछ। यस वर्षको मुख्य आकर्षण भनेको इलेक्ट्रिक मोबिलिटी, स्मार्ट ट्रान्सपोर्ट प्रणालीहरू र दिगो सवारी भविष्यतर्फको नेपालकै यात्रा हुनेछ।
विश्वस्तरीय गाडी निर्माता कम्पनीहरूदेखि सफा ऊर्जा प्रविधिमा काम गर्ने कम्पनीहरूसम्मको सहभागिता रहने यस पाँच दिने एक्सरोले अटो क्षेत्रका लागि सहकार्य र नवप्रवर्तनको महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
फोर्थिङसँग सहकार्य गर्दै, लक्ष्मी ई-मोबिलिटीले नेपाली बजारमा अत्याधुनिक र वातावरणमैत्री सवारी समाधानहरू पुऱ्याउने आफ्नो प्रतिबद्धता थप प्रगाढ बनाएको छ। कम्पनीले नेपालमा इलेक्ट्रिक सवारी साधनको भविष्य निर्माणमा अग्रणी भूमिका खेल्न निरन्तर काम गरिरहेको छ।
प्रकाशित: १२ श्रावण २०८२, सोमबार