राइड शेयरिङ भाडामा यसरी ठगिन्छन् यात्रु

Technology Khabar ८ श्रावण २०८२, बिहीबार

राइड शेयरिङ भाडामा यसरी ठगिन्छन् यात्रु
सांकेतिक तस्विर

काठमाडौं ।

‘राइड सेयरिङ सेवाको भाडादरमा एकरूपता नहुँदा यात्रु ठगिने क्रम बढेको छ। सुविधामा खासै भिन्नता नभएको अवस्थामा पनि कम्पनी अनुसार फरक फरक दर हुँदा राइडर (चालक) हरूको मोलमोलाइ बढेको छ।

अफलाइन हिँड्ने राइडरको सङ्ख्या अत्यधिक र अनलाइनमै पनि मोलमोलाइ हुने हुँदा कम्पनीले जति कमिसन घटाए पनि सेवाग्राहीलाई खासै राहत भएको छैन।

राइड सेयरिङ कम्पनीहरूको प्रतिस्पर्धा बढ्न थालेपछि अरूले भन्दा कम भाडा लिएर यात्रु तान्ने प्रयास भइरहेको छ। हाल नेपालमा एक दर्जनको सङ्ख्यामा राइड सेयरिङ कम्पनीहरू छन्। अफलाइनबाट व्यक्तिगत रूपमै सेवा दिनेको सङ्ख्या बढेपछि कम्पनीहरूले राइडरलाई आकर्षक प्याकेज स्वरूप बोनस दिने घोषणासमेत गरेका छन्।

राइड सेयरिङको दुनियाँमा पछिल्लो समय ‘याङ्गो निक्कै चर्चामा छ। पठाओ, ट्याक्सिमान्डु, इनड्राइभ, टुटलभन्दा पछि आएको याङ्गोले अन्यको तुलनामा धेरै सस्तो सेवा दिएको छ तर अनामनगरबाट नयाँ बजार याङ्गो बुक गरेकी तारा आचार्य भन्छिन्, “अनलाइनमा बुक गरेपछि आएर बार्गेनिङ गर्छन्। अफलाइन गर्दिन्छु यति दिनु भन्छन्। अरूभन्दा याङ्गो सस्तो त छ तर भाडादर कति हो, हामीलाई थाहा हुँदैन। सरकारले तोके त हुन्थ्यो नि।”

तीन प्रतिशत मात्र कमिसन लिने याङ्गोले बाइक राइड न्यूनतम ४० र ट्याक्सी १८० रुपैयाँबाट सुरु गरेको छ। यो अन्य राइडको तुलनामा ५० प्रतिशतसम्म सस्तो हो। तीन वर्षसम्म तीन प्रतिशतभन्दा बढी कमिसन नलिने कम्पनीले घोषणा पनि गरेको छ, जसले राइडरको आम्दानीमा ठुलो सहयोग गरे पनि सेवाग्राहीलाई खासै प्रभाव पारेको छैन।

अफलाइनमा सञ्चालन भएको खण्डमा कारबाही गरिँदै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले जानकारी दिए। अधिकांश यात्रु अफलाइन जाने प्रचलन बढिरहेको हुँदा सुरक्षाका हिसाबले पनि चुनौती रहेको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय राइड सेयरिङ एप यागोको नेपाल पार्टनर ट्याक्सिमान्डुका निर्देशक अर्जुन केसी भन्छन्, “हामीले ४० रुपैयाँबाटै सुरु गर्नुको कारण तल्लो वर्गका व्यक्ति, जो सार्वजनिक यातायात चढ्छन्, उनीहरूलाई लक्षित गरेको हो । सबैको पहुँचमा पुऱ्याउनु पर्छ। त्यसो गर्दा सार्वजनिक यातायातमा हुने भीडमा पनि कमी आउन सक्छ।”

यात्रु र चालक दुवैको सुरक्षा सुनिश्चित गर्न याङ्गो एपमा २० भन्दा बढी सुरक्षा फिचरहरू समावेश गरिएको छ। एपमार्फत स्वचालित रूपमा अनुमानित भाडा देखिने छ। याङ्गोमा हाल ३५ देखि ४० हजार राइडर छन्।

इनड्राइभले मोटरसाइकलमा भ्याटसहित ११.५ प्रतिशत कमिसन लिने गरेको छ।

इनड्राइभसँग ६ लाख मोटरसाइकल र ट्याक्सी दर्ता छन्। दैनिक रूपमा ५० हजार सवारीले सेवा दिएका छन्। इनड्राइभ काठमाडौं, पोखरा, विराटनगर, बुटवलमा सञ्चालनमा छ।

पठाओले पनि २० प्रतिशतसम्म कमिसन लिँदै आएको छ। एकदेखि पाँच ओटा राइड दिएको २० प्रतिशत कमिसन लिन्छ। ६ देखि ९ राइडमा १५ प्रतिशत, १० देखि १४ मा १० प्रतिशत, १६ देखि १९ राइडमा ५ प्रतिशत र २० भन्दामाथि एक प्रतिशत कमिसन लिने गरेको छ। सबै कम्पनीले आआफ्नो कमिसन तोकेर सञ्चालन गरिरहेका छन्।

कमिसन अनुसार भाडा निर्धारण पनि गरेका छन्। धेरै कमिसन लिनेको भाडा धेरै छ भने थोरै लिनेको अलि कम पाइन्छ तर राइडरहरूको मोलमोलाइले भाडादरमा ठूलो भिन्नता नदेखिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वरले बताए।

ट्याक्सीमा सरकारले भाडादर तोकेको हुन्छ तर मोटरसाइकल राइड सेयरिङमा भने त्यस्तो अवस्था छैन। कम्पनी र व्यक्तिपिच्छे भाडादर हुने गरेको छ। निर्देशक केसी भन्छन्, “ट्याक्सीमा सरकारले तोकेको छ, समस्या भएन। मोटरसाइकलमा हामीले अन्तर्राष्ट्रिय अभ्यासलाई पनि आधार बनाएका छौं। सरकारले अब कार्यविधि र नियमावली बनाउँदै छ अनि व्यवस्थित होला।”

महासङ्घका अध्यक्ष स्वाँर भन्छन्, “२०४९ को ऐनले दुईपाङ्ग्रेलाई सार्वजनिक बनाउन सकिने कुरा गरेको छ। अहिले चलिरहेका छन्, सुविधा पनि भएको छ। कानुन बनाएर व्यवस्थापन गर्नु पर्यो। नम्बर प्लेट दिए हुन्छ, गरिखान त पाउनु पर्यो।”

तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने यसको व्यवस्थापनमा खासै तयारी गरिसकेको छैन। मन्त्रालयका सहसचिव कुवेर नेपालीले भने, “राइड सेयरिङका बारेमा परिभाषित गर्नै बाँकी छ। विषय छलफलमै छ।” अनुगमन र नियन्त्रण हुन सकिरहेको छैन। बेलैमा समस्या समाधान नहुने हो भने लुटपाट मौलाएर दुर्घटनाको जोखिम बढ्ने छ।

सुविधा त छ तर नियमन र अनुगमनबिनाको असुरक्षित सुविधाले दुर्घटना निम्त्याउन सक्नेतर्फ सचेत हुनुपर्ने अध्यक्ष स्वाँरको भनाइ छ।

बिमाको सुविधा

राइड सेयरिङ कम्पनीहरूले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरणका लागि बिमाको व्यवस्था गरेका छन्। केही कम्पनीले यात्रुको पनि गरेका छन् भने केहीले राइडरहरूको गरेका छन्। बिमा सुविधा पनि समान छैन भने कतिपयमा यो सुविधा पनि छैन। यो सुविधा अफलाइनमा चाहिँ हुँदैन।

आजको गोरखापत्रबाट

Sajilo Visa

प्रकाशित: ८ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार