सौर्य आँधीबाट पृथ्वीलाई बचाउन नासाका यी दुई स्याटेलाइटले अन्तरिक्ष मौसम ट्र्याक गर्ने

Technology Khabar ५ श्रावण २०८२, सोमबार

काठमाडौं ।

पृथ्वीको वरिपरि उत्पन्न हुने चुम्बकीय आँधीबारे अध्ययन गर्न र ती घटनाले वायुमण्डल तथा उपग्रह प्रणालीमा पार्ने प्रभाव बुझ्नका लागि नयाँ अन्तरिक्ष मिसन प्रक्षेपणको तयारीमा छ।

नासाको ट्रेसर्स (ट्याण्डम रिकनेक्शन एण्ड कस्प इलेक्ट्रोडाइनामिक्स रिकोनेसाँ स्याटेलाइट्स) नामक मिसन दुईवटा साना उपग्रहहरूमाथि आधारित छ, जसले सधैँ पृथ्वीको दिउँसोपट्टि रहने गरी सूर्य-समरूपी कक्षामा परिक्रमा गर्नेछ।

यी उपग्रहहरू पृथ्वीको ध्रुव नजिकको “कस्प” भन्ने क्षेत्रमा प्रवेश गर्नेछन्। कस्प भन्नाले पृथ्वीको चुम्बकीय क्षेत्रको त्यो भाग हो जहाँ क्षेत्ररेखाहरू पृथ्वीको चुम्बकीय ध्रुवतर्फ झुक्दछन् — यी दुई क्षेत्रलाई पृथ्वीको “चुम्बकीय प्वाल” पनि भनिन्छ।

स्पेस डटकमका अनुसार जब सूर्यबाट आएका आवेशित कणहरू पृथ्वीको चुम्बकीय (क्षेत्र म्याग्नेटोस्फियर) मा ठोक्किन्छन्, तिनीहरुले चुम्बकीय क्षेत्ररेखालाई अत्यधिक लोड गराउँछन्, जसले गर्दा ती क्षेत्ररेखा चुँडिन सक्छन्, छुट्टिन सक्छन्, र फेरि जोडिन सक्छन्। यस प्रक्रियालाई चुम्बकीय पुनःजडान (म्याग्नेटिक रिकनेक्शन) भनिन्छ।

यस्तो पुनःजडानबाट अत्यधिक उर्जा उत्पन्न भई आवेशित कणहरू कस्प क्षेत्र हुँदै पृथ्वीको वायुमण्डलमा प्रवेश गर्छन्, जसले अरोरा (उत्तरी/दक्षिणी प्रकाश) उत्पन्न गर्न सक्छ — विशेष गरी जब सूर्य आँधी निकै शक्तिशाली हुन्छ।

ट्रेसर्स मिसन जुलाईको अन्त्यभन्दा अगाडि नभई प्रक्षेपण हुने अपेक्षा गरिएको छ। यसको प्रमुख उद्देश्य भनेको चुम्बकीय पुनःजडान प्रक्रियाबारे गहिरो अध्ययन गर्नु र अन्तरिक्ष मौसमले पृथ्वीमा पार्ने प्रभावहरू बुझ्नु हो।

नासाको हेलीओफिजिक्स डिभिजनका निर्देशक जो वेस्टलेकले बताए अनुसार, “ट्रेसर्सबाट हामीले सिक्ने कुरा अत्यन्त महत्त्वपूर्ण छ — सूर्यबाट आएको ऊर्जा पृथ्वीमा र हाम्रो सञ्चार प्रणाली, जीपीएस, पावर ग्रिड, अन्तरिक्ष उपकरण वा अन्तरिक्षमा कार्यरत अन्तरिक्षयात्रीहरूसम्म कसरी असर गर्छ भन्ने कुरा बुझ्नका लागि।”

अघिसम्म चुम्बकीय पुनःजडानको अध्ययन गर्दा एउटा उपग्रहले दिएको सूचनामा मात्र भर पर्ने गरिएको थियो, जुन ९० मिनेटको अन्तरालमा एउटै ठाउँ हुँदै दुई पटक जान्छ — र त्यो अवधिमा क्षेत्र नै बदलिएको हुन सक्छ। त्यसैले किन फरक भयो भन्ने पत्ता लगाउन गाह्रो पर्थ्यो।

ट्रेसर्स मिसनको प्रमुख अनुसन्धानकर्ता, आयोवा विश्वविद्यालयका डेभिड माइल्सका अनुसार, “हामीले बुझ्नैपर्ने आधारभूत प्रश्नहरू यिनै हुन्।”
ट्रेसर्स विशेष यसकारण हो कि यो दुई उपग्रह मिलेर एकै समयमा एउटै स्थानको अध्ययन गर्नेछ।

“पहिलो उपग्रह जान्छ, र दुई मिनेटभित्र दोस्रो पनि त्यही ठाउँ हुँदै जान्छ — जसले हामीलाई दुईवटा नजिकको मापन एकै समयमा दिन्छ,” माइल्सले बताए।

यी दुई उपग्रहले चुम्बकीय पुनःजडान भइरहेको स्थानको चुम्बकीय तथा विद्युत् क्षेत्रको मापन गर्नेछन्, साथै त्यहाँ रहेका आवेशित कणहरू — आयोन र इलेक्ट्रोनको गतिविधि पनि अध्ययन गर्नेछन्।

माइल्सले भने, “ट्रेसर्सले अध्ययन गर्ने विषय सूर्यको ऊर्जा कसरी पृथ्वीको वरिपरि अन्तरिक्ष क्षेत्रसँग जोडिन्छ भन्ने हो। हामी जान्न खोजिरहेका छौं — त्यो सम्बन्ध कसरी स्थान र समयअनुसार बदलिन्छ।”

ट्रेसर्स एक्लो हुने छैन। नासाका अन्य मिसनहरू जस्तै म्याग्नेटोस्फियरिक मल्टिस्केल मिशन (एमएमएम), पञ्च (पोलारिमिटर टु युनिफाइ द कोरोना हेलियोस्फियर) र ईजेडआईई (इलेक्ट्रोजेट जीम्यान इमेजिङ एक्सप्लोरर) सँग ट्रेसर्स मिलेर काम गर्न सक्नेछ। ती मिसनहरूले पनि अन्तरिक्ष मौसमको अध्ययन गर्दै आइरहेका छन्।

“ट्रेसर्स अहिलेको हेलीओफिजिक्स मिसनको बेडामा सामेल हुँदैछ, जसले सूर्य, अन्तरिक्ष मौसम र त्यसको असर कम गर्ने उपायहरूबारे हाम्रो बुझाइ बढाइरहेको छ,” वेस्टलेकले बताए।

करिब १७० मिलियन डलरको लागतमा तयार गरिएको ट्रेसर्सलाई स्पेसएक्सको फाल्कन ९ रकेटमार्फत अन्य केही साना मिसनहरूसँगै जुलाईको अन्त्यतिर प्रक्षेपण गरिनेछ।

यसले चुम्बकीय पुनःजडान कसरी काम गर्छ भन्ने गहिरो जानकारी दिन सक्नेछ, जसले वैज्ञानिकहरूलाई भविष्यमा सौर्य आँधीले गर्दा हाम्रो प्रविधिमा पार्ने असरबाट जोगाउने उपायहरू विकास गर्न मद्दत गर्नेछ।
“यसले पृथ्वीमा हाम्रो जीवनशैली सुरक्षित राख्न सहयोग पुर्‍याउनेछ,” वेस्टलेकले भने।

प्रकाशित: ५ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया