कोल्डप्ले कन्सर्टको भिडियोमा सहकर्मीसँग अंगालोमा देखिएका टेक कम्पनी एस्ट्रोनोमरका सीईओले दिए राजीनामा

Technology Khabar ४ श्रावण २०८२, आईतवार

काठमाडौं ।

कोल्डप्ले कन्सर्टमा एक कथित सहकर्मीलाई अँगालो हालेको भिडियो भाइरल भएपछि र निरन्तर मीम्स आएपछि अमेरिकी टेक कम्पनी एस्ट्रोनोमरका सीईओले शनिबार राजीनामा दिएका छन्।

“हाम्रा नेतृत्वहरूले आचरण र जवाफदेहिता दुवैमा मापदण्ड तय गर्ने अपेक्षा गरिएको छ, र हालसालै, त्यो मापदण्ड पूरा भएन,” न्यूयोर्कस्थित एस्ट्रोनोमरले लिंक्डइनमा साझा गरिएको एक विज्ञप्तिमा भन्यो।

“एन्डी बायरनले आफ्नो राजीनामा बुझाएका छन्,” फर्मले पहिले अनुसन्धान सुरु गरेपछि भन्यो।

गत बुधबार म्यासाचुसेट्सको फक्सबरोमा भएको कोल्डप्ले कन्सर्टको क्रममा, जम्बोट्रनले स्ट्यान्डमा अँगालो हालेका एक पुरुष र एक महिलालाई देखाएको थियो जसमा उनीहरु स्तब्ध र डराएको देखियो।

तर ठूलो पर्दामा आफूलाई देखेपछि ती जोडी छक्क परे र डराएका देखिए, पुरुष फ्रेमबाट बाहिर निस्किए र महिलाले आफ्नो अनुहार लुकाएकी थिईन्।

“…या त उनीहरूको अफेयर भइरहेको छ या त उनीहरू धेरै लजालु छन्,” कोल्डप्लेका फ्रन्टम्यान क्रिस मार्टिनले ठट्टा गरेका थिए।

केही घण्टामै, इन्टरनेटमा खोजी गर्नेहरूले ती पुरुषलाई एस्ट्रोनोमरका सीईओ एन्डी बायरनको रूपमा पत्ता लगाए र ती महिला कम्पनीका प्रमुख जनअधिकार अधिकृत क्रिस्टिन क्याबोट भएको बताए र यी दुबैबीच अफेयर रहेको चर्चा चलेको थियो।

यो भिडियो भाइरल भएसँगै कम्पनीले अनुसन्धान शुरु गरेको बताएको थियो। त्यससँगै सीईओले आफ्नो लि‌ंक्डइन खाता हटाएका थिए।

उनकी श्रीमतीले सो भिडियो भाइरल भए लगत्तै आफ्नो थरबाट बायरन नाम हटाएकी थिईन्।

प्रकाशित: ४ श्रावण २०८२, आईतवार

तपाइको प्रतिक्रिया