तिलिचो तालमा सौर्य ऊर्जामार्फत् विद्युत् प्रवाह

Technology Khabar ४ श्रावण २०८२, आईतवार

काठमाडौं ।

विश्वको अग्लो स्थानमा अवस्थित तिलिचो तालमा सौर्य ऊर्जामार्फत विद्युत् प्रवाह गरिएको छ। मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित समुद्र सतहबाट चार हजार ९४९ मिटर उचाइमा रहेको पर्यटकीयस्थल तिलिचो तालमा सौर्य ऊर्जामार्फत् विद्युत् आपूर्ति गरिएको हो।

नेपाल विद्युत् प्राधिकरणले तीन सय ९० वाटको सौर्य प्यानल राखेर तिलिचो तालमा विद्युत् प्रवाह गरेको जनाएको छ। विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख राजु महतोले केही दिन अघिदेखि सौर्य प्यानलको व्यवस्था गरी तिलिचो ताल क्षेत्रलाई उज्यालो बनाइएको जानकारी दिए।

उनले भने, “चिसोले ताल पुग्नु अगाडि मोबाइल बन्द (अफ) हुनसक्छ। अहिले बत्ती पुगेपछि पर्यटकलाई मोबाइल फोन चार्ज गर्न सहज भएको छ।” ङिस्याङ–९ खाङ्सारस्थित समुद्री सतहबाट चार हजार २५० मिटर उचाइमा रहेको तालको आधार शिविर (बेस क्याम्प)सम्म भने यसअघि नै राष्ट्रिय प्रसारणलाइनको बिजुली पुगिसकेको उनले जानकारी दिए।

बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् प्रवाह गरिएको प्रमुख महतोले बताए। “बेस क्याम्पबाट ताल पुग्न करिब तीन घण्टा हिँड्नुपर्छ। ताल वरिपरि बस्ती नभएकाले तत्कालका लागि सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति गरिएको छ”, उनले भने।

प्राविधिकरणले बस्ती भएको स्थानसम्म राष्ट्रिय प्रसारणलाइन जडान भएको जनाएको छ। बेसक्याम्पसम्म सहज रूपमा उज्यालो हुनुका साथै विद्युतीय कार्यमा सजिलो बनाइएको प्राधिकरणले जनाएको छ।-रासस

प्रकाशित: ४ श्रावण २०८२, आईतवार

तपाइको प्रतिक्रिया