दक्षिण कोरियाको सर्वोच्च अदालतले सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष लीलाई दियो मुद्दाबाट सफाई

Technology Khabar २ श्रावण २०८२, शुक्रबार

काठमाडौं ।

दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीबार सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष जे. वाइ. लीलाई लेखाप्रणाली धोखाधडी र सेयर मूल्य हेरफेरसम्बन्धी मुद्दाबाट पूर्णरूपमा सफाइ दिएको छ।

यस फैसलाले देशकै सबैभन्दा ठूलो कम्पनीका प्रमुखका लागि वर्षौंदेखिको कानुनी जोखिम अन्त्य गरेको छ।

सर्वोच्च अदालतले २०१५ मा भएको ८ अर्ब डलर बराबरको मर्जरसम्बन्धी मुद्दामा अपील अदालतले दिएको सफाइ निर्णयलाई सदर गरेको हो। अब लीले विश्वव्यापी प्रतिस्पर्धामा अग्रस्थानमा पुग्ने लक्ष्यसहित सामसङ को अत्याधुनिक एआई चिप विकास योजनामा ध्यान केन्द्रित गर्न पाउने भएका छन्।

रोयटर्सका अनुसार गत वर्ष तल्लो अदालतले पनि सामसङका दुई सहायक कम्पनी—सामसङ सीएण्डटी र चेली इन्डस्ट्रिजबीचको सम्झौतासम्बन्धी आरोपबाट लीलाई सफाइ दिएको थियो।

अभियोजन पक्षले यो सम्झौता लीको सामसङ मा नियन्त्रण सुनिश्चित गर्न बनाइएको दावी गरेका थिए।

“सर्वोच्च अदालतको फैसलाले दीर्घकालीन कानुनी अनिश्चितता हटाएको छ, जुन सामसङ का लागि सकारात्मक संकेत हो,” एनएच इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिजका वरिष्ठ विश्लेषक र्यु यङ-होले भने।

“अब उनी कति सक्रिय भएर कम्पनीमा संलग्न हुने हुन् भन्ने हेर्न बाँकी छ, तर यदि संस्थापक परिवारको प्रतिनिधि सक्रिय हुन्छन् भने व्यवस्थापन टोलीले छोटो अवधिको नतिजा भन्दा दीर्घकालीन योजनामा बढी ध्यान दिन सक्छ,” उनले थपे।

सामसङ इलेक्ट्रोनिक्सका सेयरहरू ३.१ प्रतिशतले उकालो लागेका छन्, जब कि प्रमुख सूचकांक कोस्पि भने लगभग स्थिर रह्यो। विश्लेषकहरूले यस वृद्धिको कारण सामसङमा रहेको कानुनी अन्योलको अन्त्य र लगानीकर्ताहरूको ध्यान एसके हाइनिक्सबाट सामसङतर्फ सरेको बताए। गोल्डम्यान साख्सले एसके हाइनिक्सको मूल्याङ्कन घटाएको थियो, जसले गर्दा त्यसका सेयरहरू ९.५ प्रतिशतसम्म घटेका थिए।

सर्वोच्च अदालतको फैसला अपेक्षित नै थियो, तर यो निर्णय यस्तो समयमा आएको हो जुन लीको नेतृत्व क्षमता र भविष्यमा उनको भूमिकाबारे प्रश्न उठिरहेका छन्। सामसङ इलेक्ट्रोनिक्स अहिले विश्वकै शीर्ष मेमोरी चिप निर्माता र दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी हो।

सामसङ का कानुनी प्रतिनिधिहरूले अदालतको निर्णयप्रति “सच्चै आभारी” रहेको प्रतिक्रिया दिएका छन्। साथै उनीहरूले एक विज्ञप्तिमा भनेका छन् कि अदालतले मर्जर कानुनी रूपमा वैध रहेको पुष्टि गरेको हो।

करीब एक दशकदेखि ली कानुनी समस्यामा फस्दै आएका थिए। विशेषतः २०१४ मा उनका पिता ली कुन-हीलाई हृदयघात भई कोमामा गएपछि उत्तराधिकार सुनिश्चित गर्नका लागि गरिएको मर्जरपछि यी कानुनी प्रक्रिया सुरु भएका थिए।

प्रकाशित: २ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया