Technology Khabar २ श्रावण २०८२, शुक्रबार
काठमाडौं ।
गुगलले अर्को मेड बाइ गुगल कार्यक्रम अगस्ट २० मा आयोजना गर्ने आज घोषणा गरेको छ। मिडिया निम्तोमा कम्पनीले उक्त कार्यक्रममा नयाँ पिक्सेल फोन, वाच, बड्स “र अन्य” प्रस्तुत गरिने उल्लेख गरेको छ।
“र अन्य” भन्नाले के संकेत गर्न खोजिएको हो भन्ने स्पष्ट छैन, तर टेक क्षेत्र नजिकबाट हेर्नेहरूका लागि यो कार्यक्रम पिक्सेल १० फ्ल्यागशिप फोन, पिक्सेल वाच ४ र नयाँ पिक्सेल बड्स सार्वजनिक हुने प्रमुख अवसर हुने अनुमान गरिएको छ।
यस अनुमानलाई अघिल्ला मेड बाइ गुगल कार्यक्रमहरू हेर्दा सहजै गर्न सकिन्छ। गएको वर्षको हार्डवेयर कार्यक्रममार्फत गुगलले पिक्सेल ९, पिक्सेल ९ प्रो, पिक्सेल ९ प्रो एक्सएल, पिक्सेल ९ प्रो फोल्ड, पिक्सेल वाच ३ र पिक्सेल बड्स प्रो २ सार्वजनिक गरेको थियो।
इन्ग्याजेटका अनुसार कम्पनीको निम्तो र अघिल्लो विवरणहरू हेर्दा, यसपटक पनि लगभग सम्पूर्ण पिक्सेल लाइनको नयाँ संस्करण सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ। “र अन्य” भन्ने खण्डमा के समेटिएको हुन सक्छ भन्ने कुरा हालै आएका केही अफवाहहरूसँग जोडिएको छ।
ती अफवाहहरू अनुसार गुगलले एप्पलको म्यावसेफ प्रविधिको जवाफस्वरूप पिक्सेलस्न्याप नामको नयाँ प्रविधिमा काम गरिरहेको छ।
एन्ड्रोइड निर्माताहरू क्यूआई२ वायरलेस चार्जिङ प्रविधि अपनाउन ढिला गरिरहेका छन्, तर आउन लागेको पिक्सेल १० मार्फत गुगलले चुम्बकीय क्यूआई२ एक्सेसरीहरूको एक श्रृंखला ल्याउने तयारी गरिरहेको देखिन्छ, जसमा नयाँ चार्जिङ स्ट्यान्ड पनि समावेश छ।
प्रकाशित: २ श्रावण २०८२, शुक्रबार