Technology Khabar ३१ असार २०८२, मंगलवार
काठमाडौं ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित भुमही-भैरहवा बाइपास सडकमा रामग्राम नगरपालिकाले ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम (एएनपिआर क्यामरा जडान गरेको छ।
सवारी दुर्घटना न्यूनीकरण र सवारीसाधनको पहिचानका लागि स्वचालित नम्बर प्लेट पहिचान र सवारीको गतिबारे जानकारी दिने स्मार्ट क्यामरा जडान गरिएको हो। रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले यस क्षेत्रमा हुने दुर्घटनामा सवारीसाधनको पहिचान गर्न सामान्य क्यामराबाट कठिन भएकाले प्रहरीलाई अनुसन्धानमा समेत सघाउ पुग्ने र नगर क्षेत्रको शान्ति सुरक्षामा सहयोगी हुने भएकाले आधुनिक खालको क्यामरा जडान गरिएको बताए।
नयाँ जडान गरिएको क्यामराले हरेक सवारीसाधनको नम्बर प्लेट स्वतः पहिचान गर्दछ भने सवारीसाधनको गतिसमेत मापन गरी स्वचालित रूपमा अभिलेख राख्दछ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तले यो प्रविधिले प्रहरीलाई अपराध अनुसन्धान र सवारी गति मापनमा सहयोग पुग्ने बताए।
पछिल्लो समय सवारीसाधनको नम्बर पहिचान नहुँदा दुर्घटनापछि भागेका सवारीसाधन खोजीमा समस्या हुँदै आएकोमा यो प्रविधिले सहयोग पुग्ने उनको भनाइ छ।
आजको गोरखापत्रबाट
प्रकाशित: ३१ असार २०८२, मंगलवार