Technology Khabar २४ असार २०८२, मंगलवार
काठमाडौं ।
वैज्ञानिकहरूले यस्तो नयाँ प्रकारको इलेक्ट्रोनिक “छाला” विकास गरेका छन् जसले रोबोटलाई थिचिएको, टोकिएको, तापक्रमको परिवर्तन, यहाँसम्म कि चक्कुले घोचिएको अनुभूति समेत स्पर्श महसुस गर्ने क्षमता प्रदान गर्न सक्छ।
यो छाला विद्युत् प्रवाह हुने जेलेटिन-आधारित पदार्थ बाट बनाइएको हो, जसलाई विभिन्न आकारमा ढाल्न सकिन्छ। यसमा विशेष प्रकारको इलेक्ट्रोड जडान गरिएपछि, लाखौं संवेदनशील मार्गहरूबाट आउने संकेतहरू टिप्न सक्ने क्षमता हुन्छ, जसले विभिन्न स्पर्श र दबाबका अनुभूति जनाउँछ।
वैज्ञानिकहरूका अनुसार यो सामग्रीलाई मानव स्वरूपका रोबोटहरू वा प्रोस्थेटिक अंगहरू (कृत्रिम अंग) मा प्रयोग गर्न सकिन्छ, जहाँ स्पर्शको अनुभूति अत्यन्त आवश्यक हुन्छ। साथै, यसको प्रयोग गाडी निर्माणदेखि लिएर विपद् उद्धार कार्यहरूमा समेत विस्तार गर्न सकिने सम्भावना छ। यो अध्ययन जुन ११ मा साइन्स रोबोटिक्स जर्नलमा प्रकाशित गरिएको हो।
लाइभसाइन्सका अनुसार ट्याक्टाइल सेन्सिङ (स्पर्श आधारित संवेदनशीलता) अहिलेको रोबोटिक्समा अर्को ठूलो उपलब्धिको रूपमा देखिएको छ किनभने वैज्ञानिकहरू यस्तो मेसिन बनाउन चाहन्छन् जसले मानव जस्तै संवेदनशीलता सहित प्रतिक्रिया दिन सकून्।
सामान्यतया इलेक्ट्रोनिक छालाले दबाब, तापक्रमजस्ता भौतिक जानकारीलाई इलेक्ट्रोनिक संकेतमा रूपान्तरण गर्छ। तर फरक–फरक अनुभूतिका लागि छुट्टा–छुट्टै सेन्सर आवश्यक पर्छन्, जसले एक–अर्कामा हस्तक्षेप गर्न सक्छन्, र सिलिकोन वा इलास्टोमर प्रयोग गरिने परम्परागत सामग्रीहरू सजिलै बिग्रिन सक्छन् ।
तर नयाँ छालामा एउटै प्रकारको “मल्टिमोडल” सेन्सर प्रयोग गरिएको छ, जसले स्पर्श, तापक्रम, र क्षतिको अनुभूति सबै छुट्टै सेन्सर बिना पत्ता लगाउन सक्छ। वैज्ञानिकहरूका अनुसार, यस्ता सेन्सरहरू सस्तो, बनाउन सजिलो र टिकाउ हुन्छन् ।
यो प्रविधिको परीक्षणका लागि वैज्ञानिकहरूले विद्युत् सुचालक जेलाटिनमा आधारित हाइड्रोजेल पगालेर मानव हातको आकृतिमा ढालेका थिए, र त्यसमा विभिन्न प्रकारका इलेक्ट्रोडहरू राखेर कुन डिजाइनले कत्तिको प्रभावकारी डाटा दिन्छ भनेर परीक्षण गरेका थिए।
यस परीक्षणमा तातो हावाले पोल्नु, औँलाले तथा रोबोटिक हातले थिच्नु, र चक्कुले काट्ने जस्ता कठोर विधिहरू अपनाइएको थियो।
कुल १७ लाखभन्दा बढी सूचनाका टुक्रा ८ लाख ६० हजारभन्दा बढी संवेदनशील मार्गहरूबाट संकलन गरिएको थियो र ती डाटा प्रयोग गरेर मेसिन लर्निङ मोडेल प्रशिक्षण दिइएको थियो। यदि यो मोडेल रोबोटिक प्रणालीमा समावेश गरियो भने रोबोटले विभिन्न प्रकारका स्पर्शहरू छुट्याउन सक्नेछ।
अध्ययन सह–लेखक तथा युनिभर्सिटी कलेज लण्डन (यूसीएल) का रोबोटिक्स र एआई विषयका प्राध्यापक थोमस जर्ज थुरुथेलका अनुसार, “अहिलेसम्म यो छाला मानिसको छालाजत्तिकै राम्रो त छैन, तर अहिले उपलब्ध प्रविधिहरूको तुलनामा यो धेरै उत्कृष्ट छ भन्नेमा हामी ढुक्क छौं।”
उनका अनुसार, “हाम्रो विधि परम्परागत सेन्सरभन्दा लचिलो, निर्माण गर्न सजिलो, र मानव स्पर्शको आधारमा कसै पनि कामको लागि सजिलै मिलाउने (क्यालिब्रेट गर्ने) सकिने किसिमको छ ।”
प्रकाशित: २४ असार २०८२, मंगलवार