
काठमाडौं ।
शाओमी र लाइकाले पछिल्ला केही वर्षमा स्मार्टफोन क्यामरा क्षेत्रमा सहकार्य गरेका थिए जसको परिणाम सन्तोषजनक देखिएको थियो । तर हालै एक रिपोर्टले शाओमी अब लाइकासँगको साझेदारी अन्त्य गर्ने तयारीमा रहेको दावी गरेको छ ।
चिनियाँ टिपस्टर डिजिटल च्याट स्टेशनको पोस्टमार्फत आएको यो अफवाह अनुसार शाओमी अब लाइका को नाम र विशेषज्ञता बिना नै उच्च गुणस्तरको इमेजिङ टेक्नोलोजी निर्माण गर्न सक्षम भएको विश्वासमा छ।
पोस्टमा शाओमीको नाम स्पष्ट रूपमा उल्लेख नगरिएको भए पनि विवरणहरूले भने त्यसतर्फ संकेत गर्छन्। शाओमीले लाइकासँगको सहकार्यमा बजारमा आफ्नो प्रिमियम छवि बनाउनका लागि सुरु गरेको थियो, जुन केही हदसम्म सफल पनि भयो।
तर मिड-रेन्ज सेग्मेन्टमा मूल्यका कारण चुनौतीहरू देखापरेका थिए। अब यदि लाइका ब्रान्डिङ र रोयल्टी हटाइएमा शाओमीले आफ्नो सबै सेग्मेन्टमा उत्कृष्ट क्यामेरा अनुभव सस्तो मूल्यमा दिन सक्ने आकलन गरिएको छ।
रिपोर्ट अनुसार रेडमी र पोकोजस्ता उप-ब्रान्डहरूले पनि यस रणनीतिबाट फाइदा लिन सक्छन् किनकि उत्पादन लागत नियन्त्रणमा ल्याउन सकिनेछ ।
लाइका ब्रान्डिङ शाओमी लाई कति खर्चिलो थियो भन्ने नखुलाइए पनि अन्य ब्रान्डहरूको अनुकरण गर्दा त्यस्तो साझेदारी सस्तो नहुने मानिन्छ।
लाइकाले अघिल्लो समय विशेषगरी पी-सिरिजका लागि ह्वावेसँग पनि काम गरेको थियो तर सहकार्य टुंगिएपछि ह्वावेले आफ्नै इमेजिङ समाधान विकास गरेर अघि बढेको न्युज१८ ले उल्लेख गरेको छ।
त्यसैगरी भिभोले पनि जाइस अप्टिक्ससँग सहकार्य गरेर एक्स-सिरिजमा उत्कृष्ट क्यामरा प्रविधि ल्याएको छ। यस्ता सहकार्यहरू सधैंका लागि हुने होइनन्, तर सुरुवाती रूपमा विशेषज्ञता, ज्ञान र दक्ष जनशक्तिमा पहुँच दिन सहायक हुने मानिन्छ।
हालको अवस्थामा शाओमीको निर्णयबारे पुष्टि नभए पनि, कम्पनीको लागत-केन्द्रित दृष्टिकोण र आन्तरिक टेक्नोलोजी विकास क्षमतालाई हेर्दा र उनीहरूसँग प्रतिस्पर्धी गुणस्तरको समाधान तयारी अवस्थामा छ भने यो त्यति गलत निर्णय नहुन सक्छ।
प्रकाशित: २४ असार २०८२, मंगलवार