Technology Khabar २० असार २०८२, शुक्रबार
काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। यसका लागि नीतिगत सुधारदेखि कार्यान्वयनमा ध्यान दिइएको उनको भनाइ छ।
यसैगरी, सवारीसाधनहरुलाई भारवहन क्षमताअनुसार सञ्चालन गर्ने प्रबन्ध कडाइका साथ लागू गरिने पनि उनले बताए। नेपाली सडक तथा संरचनाको दिगो उपयोगका लागि भारवहन क्षमता कडाइका साथ लागू गर्न आवश्यक रहेको उनको भनाइ छ। अधिक भारका मालवाहक सवारीसाधनका कारण नेपालका पुल तथा सडकमा ठूलो नोक्सानी हुने गरेको भन्दै मन्त्री दाहालले सीमा क्षेत्रदेखि नै यसको नियन्त्रण गरिने बताए।
चन्द्रागिरि नगरपालिका–७ मा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित भवनको आज उद्घाटन समारोहमा उनले नेपालका सडक, पुललगायतका संरचनाको संरक्षण सबैको दायित्व रहेको पनि उल्लेख गरे।
“हाम्रो भूबनोट तथा सडकको अवस्थाअनुसार पुलहरुको निर्माण गरिएको हुन्छ,” मन्त्री दाहालले भने, “निश्चित भार क्षमताका ती संरचनामा जथाभावी अधिक भारका सवारीसाधन त चलाउनु भएन नि, हाम्रा संरचनको संरक्षण गर्ने जिम्मेवारी हामी सबैको हो।”
उनले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन संशोधनलाई समेत मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे। कार्यक्रममा व्यवसायीहरुले राखेका माग सम्बोधनमा मन्त्रालय सकारात्मक रहेको मन्त्री दाहालले बाताए। रासस
प्रकाशित: २० असार २०८२, शुक्रबार