क्युरियोसिटी रोभरले खिच्यो मंगल ग्रहमा पहिलोपटक विशाल ‘माकुरोको जाल’ आकारको संरचनाको फोटो

Technology Khabar १४ असार २०८२, शनिबार

काठमाडौं ।

नासाको क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्मकै पहिलोपटक विशाल ‘माकुरो जाल’ जस्ता बनावट को नजिकबाट तस्बिर खिचेको छ। यी जालजस्ता संरचनाहरू – वैज्ञानिकहरूले ‘बक्सवर्क’ भनेर चिनाएका – प्राचीन जमिनमुनीको पानीका कारण बनेका हुनसक्ने बताइएको छ।

यिनले मंगलको जल इतिहासबारे थप खुलासा गर्न सक्छन् र त्यहाँ जीवनको सम्भावनासम्बन्धी संकेत दिन सक्ने अनुमान गरिएको छ।

यी खालका संरचनाहरू खनिजले भरिएको ढुंगाबाट बनेका क्रस-क्रस रेखाजस्ता हुन्, जसले गर्दा तिनीहरू आकाशबाट हेर्दा ठूला माकुराले बनाएको जालजस्तो देखिन्छन्। केही संरचनाहरू त २० किलोमिटर (१२ माइल) सम्म फैलिएका छन्। तर यस्ता संरचनाहरू अहिलेसम्म नजिकबाट अध्ययन गरिएको थिएन।

पृथ्वीमा पनि बक्सवर्क जस्ता बनावट गुफाको पर्खालमा देखिन्छन्, जुन स्टालाग्माइट र स्टालाक्टाइट जस्तै प्रक्रियाबाट बन्ने गर्छन्। वैज्ञानिकहरूको भनाइमा यस्तै प्रक्रिया मंगलमा पनि धेरै ठूलो मात्रामा भएको हुनसक्छ।

नासाले एक विज्ञप्तिमा लेखेको छ: “यी रेखाहरुको मुनिको शिला त्यसबेला बनेको हुनसक्छ जब भुइँको पानी शिलाभित्रको चिरा र दरार हुँदै बग्दा खनिजहरू जम्मा भए र ती भागहरू सिमेन्टजस्तै कठोर हुँदै गए।” करोडौँ वर्षको हावाको घर्षणले कमजोर चट्टान हटाइदियो, तर खनिजले बनेका रेखाहरू भने जस्ताको तस्तै बाँकी रहे।

तर वैज्ञानिकहरूले यी संरचनाहरू मंगलमा पहिल्यै देखिएका ‘स्पाइडर’ भनिने बनावटसँग मिल्दोजुल्दो नभएको स्पष्ट पारेका छन्। ती कार्बन डाइअक्साइडको बरफबाट बनेका थिए, जुन पृथ्वीमा पनि पहिलोपटक पुनःनिर्माण गरिएको थियो।

लाइभसाइन्सका अनुसार क्युरियोसिटी रोभरले अहिले माउन्ट शार्प नामको ५.५ किलोमिटर अग्लो पहाडको डाँडामा रहेका यिनै बक्सवर्क संरचनाहरूको बीचमा अनुसन्धान गरिरहेको छ।

रोभर सन् २०१२ मा गले क्रेटरमा अवतरण गरेको थियो र सन् २०२४ नोभेम्बरमा यो क्षेत्रमा पुग्ने लक्ष्यसहित हिँडेको थियो। यसै महिनामा रोभर त्यहाँ पुगेको हो। यस्ता जालजस्ता बनावट माउन्ट शार्पको अरू भागमा देखिएको छैन भन्ने कुराले वैज्ञानिकहरूलाई झन् चकित बनाएको छ।

नासाले जुन २३ मा यी बनावटहरूको पहिलो नजिकको तस्बिरहरू सार्वजनिक गरेको छ। साथै, थ्रीडीमा ती संरचनाहरू अन्वेषण गर्न मिल्ने एउटा अन्तरक्रियात्मक भिडियो पनि युट्युबमा अपलोड गरिएको छ।

रोभरले ती जालनजिकका ढुंगाहरू ड्रिल गरेर विश्लेषण गर्दा क्याल्सियम सल्फेट नामको खारयुक्त खनिज भेटिएको छ, जुन पनि प्राचीन पानीका कारण नै बन्ने हो। यो खनिज माउन्ट शार्पको माथिल्लो भागमा पहिले कहिल्यै देखिएको थिएन, जसले वैज्ञानिकहरूलाई झनै आश्चर्यचकित बनाएको छ।

नासाको जेट प्रपल्सन ल्याबकी क्युरियोसिटी रोभर परियोजनाकी उपवैज्ञानिक अबिगेल फ्रेमनले भनेकी छन्, “यो पत्ता लाग्नु साँच्चै अनपेक्षित हो।”

बक्सवर्क संरचनालाई नजिकबाट अध्ययन गरेर उनीहरूले मंगल ग्रहको प्राचीन जल इतिहासबारे अझ धेरै कुरा पत्ता लगाउन सक्ने अनुसन्धानकर्ताहरूको आशा छ।

यसबाट ग्रहको महासागरहरू सौर्य विकिरणका कारण हटाइएका समयको बारेमा जानकारी प्राप्त हुने उनीहरुको अपेक्षा छ। आगामी अनुसन्धानहरूले मंगलको सतह मुनि हालै पत्ता लागेको विशाल भूगर्भीय महासागरबारे पनि थप जानकारी दिन सक्छ।

यी रेखाहरूले मंगल ग्रहमा कहिल्यै जीव थियो कि थिएन भन्ने बहसमा अन्ततः निर्णायक भूमिका खेल्न सक्ने केही वैज्ञानिकहरूको विश्वास रहेको लाइभसाइन्सले उल्लेख गरेको छ।

“यी रेखाहरू त्यस्ता खनिजहरूबाट बनेका छन्, जुन जमिनमुनि न्यानो वातावरणमा बनेका हुन्, जहाँ नुनिलो तरल पानी बगिरहेको हुन सक्थ्यो,” ह्युस्टनको राइस विश्वविद्यालयमा क्युरियोसिटी मिशनकी वैज्ञानिक किर्स्टेन सिबाखले पहिले बताएकी थिइन्। “पृथ्वीको आरम्भिक सूक्ष्मजीवहरू पनि यस्तै वातावरणमा बाँचेका हुन सक्थे। त्यसैले यो स्थान अनुसन्धानको लागि अत्यन्त रोमाञ्चक छ।”

प्रकाशित: १४ असार २०८२, शनिबार

तपाइको प्रतिक्रिया