Technology Khabar १३ असार २०८२, शुक्रबार
काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगारीका लागि प्रविधिको प्रयोग गर्न सक्ने सीपयुक्त दक्षजनशक्ति तयार गर्नुपर्ने बताएका छन्।
आज मन्त्रालयमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच सम्झदारीपत्र हस्ताक्षर कार्यक्रममा उहाँले विश्वको बदलिँदो परिवेशमा प्रविधि प्रयोगको ज्ञान, सीप र क्षमता भएका दक्षशक्ति उत्पादनमा जोड दिएका हुन्।
मन्त्री भण्डारीले श्रम क्षेत्रको अध्ययनको आवश्यकता औँल्याउँदै विश्वविद्यालयहरुसँगको सहकार्यमा ‘डिप्लोमा इन लेबर स्टडिज कोर्ष’ सञ्चालन गर्ने तयारीबारे समेत जानकारी दिए।
श्रम मन्त्रालयले दिने सबै सेवाहरु एकीकृत रुपमा प्रवाह गर्नका लागि सबै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत सूचना प्रवाह भइरहेको उनले बताए। उनले सूचनाको अभावमा रोजगारीका लागि उपलब्ध भएका अवसर सदुपयोग हुन नसकेको समेत उल्लेख गरे।
मन्त्री भण्डारीले श्रम र आप्रवासनको क्षेत्रलाई सर्वसुलभ बनाउन स्विटजरल्यान्ड सरकार र स्विस कन्ट्याक्टको भूमिका महत्वपूर्ण रहेको भन्दै चर्चा गरे। उनले नेपालमा पहिलोपटक राष्ट्रिय आप्रवासन नीति टुङ्गिने अवस्थामा पुगेको जानकारी गराउँदै छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने विश्वाससमेत व्यक्त गरे।
सोही अवसरमा श्रम, रोजगार तथा आप्रवासन सम्बन्धमा क्षमता विकास लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच त्रिपक्षीय एक सम्झदारीपत्रमा हस्ताक्षर गरिएको थियो।
मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले तालिम र सीपको तादाम्यता, आवश्यकता र तालिमबीचको तादाम्यतासँगै तालिमको सबैलाई पहुँच र अवसर व्यवस्थापनका लागि यो त्रिपक्षीय सम्झदारीले सहयोग गर्ने विश्वास व्यक्त गरे। तीनै संस्थाले एकअर्कालाई सहयोग, सहकार्य र प्रशंसा गर्दै श्रम आप्रवासनको कामलाई उच्च स्तरमा पुर्याउने उनको भनाइ थियो। रासस
प्रकाशित: १३ असार २०८२, शुक्रबार