स्पेसएक्सद्वारा ऐतिहासिक एक्जिअम-४ अन्तरिक्ष मिशन आईएसएसतर्फ प्रक्षेपण

Technology Khabar ११ असार २०८२, बुधबार

काठमाडौं ।

स्पेसएक्सको नयाँ ड्रागन अन्तरिक्षयानले पहिलोपटक एएक्स-४ मिशनका चार सदस्यहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फ पठाएको छ। यो मिशन ह्युस्टनस्थित कम्पनी एक्जिअम स्पेसको हो।

एएक्स-४ मिशनको स्पेसएक्स फाल्कन ९ रकेट बुधबार बिहान २:३१ बजे (ईडीटी) नासाको केनेडी स्पेस सेन्टरको लञ्च कम्प्लेक्स-३९ए बाट प्रक्षेपण गरिएको हो।

परम्पराअनुसार नयाँ अन्तरिक्षयानको पहिलो मिशनमा जाने टोलीले त्यस यानको नाम राख्ने अधिकार पाउँछन्। एएक्स-४ टोलीले यस नयाँ ड्रागन यानको नाम “ग्रेस” राखेको छ, जुन उनीहरूले कक्षामा पुगेपछि सार्वजनिक गरेका थिए।

स्पेस डटकमका अनुसार पहिले यो मिशन जुन ११ मा प्रक्षेपण गर्ने योजना थियो, तर विभिन्न समस्याका कारण दुई हप्ता ढिला भयो। पहिलो प्रयास उच्च-उचाइको हावाका कारण स्थगित भयो। त्यसपछि प्रक्षेपण यानमै लिक देखिएको थियो। अन्तिम र सबैभन्दा लामो ढिलाइको कारण भने आईएसएस मा भएको लिक नै हो।

आईएसएस को पछिल्लो भागमा रहेको ज्वेज्दा मोड्युलमा विगत पाँच वर्षदेखि सानो लिक भइरहे पनि स्थिति स्थिर थियो। तर पछिल्लो साता त्यहाँको प्रेशर डाटामा परिवर्तन देखिएपछि नासाले एएक्स-४ प्रक्षेपण रोकेको थियो। जुन २३ मा नासाले नयाँ प्रक्षेपण मिति घोषणा गर्‍यो तर लिकसम्बन्धी ठोस जानकारी भने दिएको छैन।

एएक्स-४ मिशनको नेतृत्व पूर्व नासा अन्तरिक्ष यात्री पेगी व्हिटसनले गरेकी छन्, जो अहिले एक्जिअम को मानव अन्तरिक्ष उडान विभाग प्रमुख पनि हुन्। उनीसँगै छन् पाइलट शुभांशु शुक्ला र मिशन विशेषज्ञहरू स्लाभोस उज्नान्स्की–विश्नेभ्स्की (पोल्याण्ड) र टिबोर कापु (हंगेरी)।

यो तीन जनाका लागि पहिलो अन्तरिक्ष यात्रा हो। उनीहरू आफ्ना देशबाट आईएसएस तर्फ जाने पहिलो यात्री पनि हुन्। पेगी व्हिटसनका लागि यो पाँचौं अन्तरिक्ष यात्रा हो, र यसपछि उनको जम्मा अन्तरिक्ष बसाइ करिब ७०० दिन पुग्नेछ — जुन अमेरिकी अन्तरिक्ष यात्रीहरूमध्ये सबैभन्दा धेरै हो।

एएक्स-४ टोलीले आईएसएस मा करिब दुई हप्ता बिताउनेछ। त्यहाँ उनीहरूले ६० भन्दा बढी वैज्ञानिक अनुसन्धान र एसटीईएम कार्यक्रमहरू सञ्चालन गर्नेछन् जुन अहिलेसम्मकै एक्जिअम मिशनहरूमध्ये सबैभन्दा धेरै हो।

प्रकाशित: ११ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया