चीनमा हुने मुख आपूर्ति श्रृंखला प्रदर्शनीमा पहिलोपटक सहभागी हुँदै एनभिडिया

  • Technology Khabar | ४ असार २०८२, बुधबार
चीनमा हुने मुख आपूर्ति श्रृंखला प्रदर्शनीमा पहिलोपटक सहभागी हुँदै एनभिडिया

काठमाडौं ।

अमेरिकी चिप निर्माता कम्पनी एनभिडिया जुलाईमा बेइजिङमा हुने एक प्रमुख आपूर्ति श्रृंखला प्रदर्शनीमा पहिलोपटक सहभागी हुने भएको छ। यसबारे चीनको सरकारी प्रसारक सीसीटीभीले मंगलबार जानकारी दिएको हो।

चीन अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला प्रदर्शनीको तेस्रो संस्करण जुलाई १६ देखि २० सम्म आयोजना हुनेछ र यसमा २३० भन्दा बढी नयाँ चिनियाँ तथा विदेशी कम्पनीहरू सहभागी हुने सीसीटीभीले जनाएको छ।

रोयटर्सका अनुसार एनभिडिया कृत्रिम बुद्धिमत्तासँग सम्बन्धित चिपहरूको बजारको अग्रपंक्तिको खेलाडी हो। कम्पनीले अमेरिकाको कडा हुँदै गएको निर्यात नियन्त्रणको पालना गर्दै चीनमा घट्दो बजार हिस्साको सामना गरिरहेको छ। ती नियन्त्रणहरू चीनलाई अत्याधुनिक चिपहरूमा पहुँच रोक्ने उद्देश्यले लागू गरिएको हो।

यो प्रदर्शनीमा ठूला सम्झौताहरू हुने प्चलन छैन। तर यसले विदेशी सहभागीहरूलाई चिनियाँ बजारप्रति आफ्नो प्रतिबद्धता देखाउने अवसर दिन्छ।

२०२३ मा आयोजित पहिलो संस्करणमा चीनका प्रधानमन्त्री ली छ्याङले सम्बोधन गरेका थिए। उनले त्यो अवसरमा केही पश्चिमी देशहरू चीनमाथिको निर्भरता घटाउनुपर्ने धारणा राखिरहेका बेला चिनियाँ आपूर्ति श्रृंखलाहरूको भरपर्दोपनालाई जोड दिएका थिए।

त्यसयता अमेरिका र चीनबीचको व्यापार विवाद अझ चर्किएको छ। त्यसपछि पनि यो वर्ष प्रदर्शनीमा सहभागी विदेशी कम्पनीहरूमध्ये अमेरिकी कम्पनीहरूको संख्या सबैभन्दा धेरै हुनेछ र गत वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि हुने सीसीटीभीले जनाएको छ।

प्रकाशित: ४ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...