Technology Khabar २८ जेष्ठ २०८२, बुधबार
काठमाडौं ।
नेपालमा २०८१ वैशाख महिनाभरी मोबाइल मार्फत हुने बैंकिङ कारोबारको सङ्ख्या र रकम अघिल्ला महिनाहरुमा झैं बढेको पाइएको छ। यो प्रवृत्ति मंसिरदेखि यता निरन्तर बढ्ने क्रममा रहेको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/२०८२ को दशौं महिना २०८२ वैशाखसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार र रकम दुवैमा लगातार छैटौं महिना बढोत्तरी भएको पाइएको हो।
माघबाट फागुनमा जाँदा कारोबार सङ्ख्या २ लाख २८ हजार ७२६ बढेर समग्रमा ५ करोड १२ लाख ३२ हजार ७४८ पुगेको थियो।
यसैगरी कारोबार रकममा पनि उल्लेख्य ७ अर्ब ८५ करोड ३० लाख रुपैयाँले बढेर मोबाइल बैंकिङमार्फत् हुने कारोबार रकम समग्रमा ४ खर्ब १५ अर्ब ७८ करोड ५० लाख पुगेको थियो।
यसैगरी फागुनबाट चैत मसान्तसम्म जाने क्रममा कारोबार सङ्ख्या ४९ लाख ५८ हजार ९६९ बढेर समग्रमा ५ करोड ६१ लाख ९१ हजार ७१७ पुगेको थियो।
कारोबार रकम पनि सङ्ख्याकै अनुपातमा बढेको थियो। चैत मसान्तसम्म आइपुग्दा ३ अर्ब ४६ करोड ६९ लाख रुपैयाँले बढेर समग्रमा ४ खर्ब ५० अर्ब ४५ करोड ९० लाख रुपैयाँ पुगेको प्रतिवेदनले देखाएको छ।
हाल चैत मसान्तबाट वैशाख मसान्तसम्मको एक महिनामा कारोबार सङ्ख्या ११ लाख ७९ हजार ४९८ बढेर समग्रमा ५ करोड ७३ लाख ७१ हजार २१५ पुगेको छ।
कारोबार रकम पनि चैत मसान्तको ४ खर्ब ५० अर्ब ४५ करोड ३० लाखबाट ६अर्ब ५० करोड बढेर समग्रमा ४ खर्ब ५६ अर्ब ९५ करोड ४० लाख रुपैयाँ पुगेको प्रतिवेदनले देखाएको छ।
यो प्रवृत्तिले उपभोक्ताहरु अब क्रमश: भौतिक रकमभन्दा सहजताका हिसाबले प्रविधिमार्फत सञ्चालित मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड तथा वालेटमार्फत् भुक्तानी कारोबारतर्फ आकर्षित हुँदै गइरहेको इंगित गर्दछ।
प्रकाशित: २८ जेष्ठ २०८२, बुधबार