नेपाल टेलिकमको नेटवर्क आज पनि डाउन, हिजो र आजको प्राविधिक समस्या एकै प्रकृतिका

Technology Khabar २७ जेष्ठ २०८२, मंगलवार

नेपाल टेलिकमको नेटवर्क आज पनि डाउन, हिजो र आजको प्राविधिक समस्या एकै प्रकृतिका
ढोरपाटन क्षेत्रमा ३२ सय ५० मिटर उचाईमा नेपाल टेलिकमले स्थापना गरेको मोबाइल टावर। फाइल तस्बिर।

काठमाडौं ।

नेपाल टेलिकमको नेटवर्कमा आज मंगलबार समेत समस्या देखिएको छ। सोमबार अपरान्ह देखिएको प्राविधिक समस्यानै आज फेरी दोहोरिएको हो।

तर आजको समस्या केहि समयका लागि मात्र हुँदा अधिकांश सेवाग्राहीले अनुभव गर्न सकेनन्। नेपाल टेलिकम स्रोतले समेत हिजो र आज दुबै पटक एकै किसिमको प्राविधिक समस्या देखिएको जानकारी दिएको छ।

“आज देखिएको समस्या केहि समय मात्र थियो र हिजोको जस्तै प्राविधिक समस्या हो,” स्रोतले बतायो।

यसैगरी, आज पनि नेटवर्कमा समस्या देखिएको नेपाल टेलिकमका नव नियुक्त प्रवक्ता रबिन्द्र मानन्धरले टेक्नोलोजीखबरलाई पुष्टि गरे।

उनले आज बिहानको समयमा केहि समयको लागि मात्र नेटवर्कमा समस्या देखिएको बताए।

“आज बिहान केहि समय मात्र नेटवर्कमा समस्या आएको थियो। ‘ओसिएस (अनलाइन चार्जिङ्ग सिस्टम)’ ‘मा समस्या देखिएको प्राविधिकहरुले बताएका छन्,” उनले टेक्नोलोजीखबरसँग भने इन्जिनियरहरुले लग हेर्ने काम गरिरहेका छन्।

नेपाल टेलिकमको बिलिङ्गसँग सम्बन्धित विषयमा अख्तियारले मुद्दा हालेपछि यस्तो हुनुको कारण के हो भन्ने प्रश्नमा उनले भने, “यो केवल संयोग मात्र हो त्यस्तो केहि होईन्।”

उनले सोमबारको र आजको समस्या उस्तै प्रकृतिको भएको बताए। “उस्तै हो तर आज तत्काल समाधान गरिएको थियो,” प्रवक्ता मानन्धरले भने।

यसअघि, सोमबार अपरान्ह समस्या देखिएको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा टेलिकमका एमडी संगिता पहाडी अर्यालसहितका अधिकारीहरूलाई अख्तियारले मुद्दा हालेपछिको वर्तमान अवस्थाको बारेमा छलफल भइरहँदा टेलिकमकै नेटवर्क ठप्प भएको थियो।

टेलिकमकै उच्च अधिकारीहरू र मन्त्री तथा सचिवसहितको बैठक बसिरहेको समयमा सेवा बन्द हुँदा एकछिन सबैलाई तनाव भएको थियो।

“सेवा करिब १५ मिनेट अवरुद्घ हुँदा बैठकमा नै खैलाबैला मच्चिएको थियो,” स्रोतले सोमबार भनेको थियो।

उक्त बैठकमा नेपाल टेलिकमका कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङ र सञ्चार सचिवले निर्देशन दिएका थिए।

सोमबार करिब ८/९ मिनेट नेटवर्क डाउन भएको टेलिकमकै एक उच्च अधिकारीले टेक्नोलोजीखबरलाई बताएका थिए।

यसैबीच अर्का एक उच्च अधिकारीले यस बारेमा विस्तृतमा हेर्न इन्जिनियरहरुलाई भनिएको र “लग अनुसन्धान”को रिपोर्ट केहि दिनमा आउने जानकारी दिएका छन्।

प्रकाशित: २७ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया