Technology Khabar २७ जेष्ठ २०८२, मंगलवार
काठमाडौं ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड सेयरिङसम्बन्धी नियमावली गण्डकी प्रदेश सरकारले एक महिनापछि कार्यान्वयन प्रक्रियामा लैजाने बताएका छन्।
सोमबार गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन्। राइड सेयरिङ विषयमा गण्डकी प्रदेश सरकारले नियमावली बनाइसकेकाले पछि नहट्ने दाबी गरे।
एक महिनाको समय अवधिमा मुख्यमन्त्री पाण्डेले यातायात व्यवसायीको कुरा सुन्न र वार्ताका लागि एक महिनाको समय लिएकाले त्यसपछि कार्यान्वयनमा जाने उनको भनाइ छ।
मुख्यमन्त्री पाण्डेले भने, “गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याइसकेको छ। नियमावलीभित्र सरोकारका केही विषय छुटेका छन् भने त्यसलाई यातायात व्यवसायीको माग अनुसार सम्बोधन गर्न सकिने भएकाले पनि वार्ता र संवादबाट निष्कर्षमा पुग्न प्रदेश सरकार तयार छ।”
गण्डकी प्रदेश सरकारले अवैध तवरबाट सञ्चालनमा आएका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनलाई नियम अनुसार चलाएर राज्यलाई आम्दानीको स्रोत बढाउनका लागि पनि नियमावली अघि बढाइएको मुख्यमन्त्री पाण्डेले बताए। उनले भने, “प्रदेश सरकारले यातायात व्यवसायीको माग सम्बोधन गर्न सक्ने अवस्था छ भने सम्बोधन गर्छौं, होइन भने राइड सेयरिङ नियमावली एक महिनापछि जसरी पनि कार्यान्वयनको प्रक्रियामा जान्छ।”
प्रकाशित: २७ जेष्ठ २०८२, मंगलवार