Technology Khabar २५ जेष्ठ २०८२, आईतवार
काठमाडौं ।
अल्फाबेटको स्वामित्वमा रहेको अनडिमाण्ड ड्रोन डेलिभरी कम्पनी विङले वालमार्टसँगको साझेदारीमा आफ्नो व्यवसाय विस्तार गर्दैछ।
दुवै कम्पनीले बिहीबार घोषणा गरेका अनुसार, ड्रोनमार्फत डेलिभरी सेवा अब पाँच नयाँ अमेरिकी शहरहरू — एटलान्टा, चार्लोट, ह्यूस्टन, ओरल्यान्डो र ट्याम्पा — का १०० भन्दा बढी वालमार्ट स्टोरहरूसम्म विस्तार गरिनेछ। साथै, ड्यालस-फोर्ट वर्थ क्षेत्रमा पहिल्यै संचालनमा रहेको बजारमा पनि विंगको सेवा थप गरिनेछ।
यो विस्तारले ड्रोन डेलिभरीप्रति वालमार्टको बढ्दो विश्वास देखाउँछ। वालमार्ट यूएस ट्रान्सफर्मेसन र इनोभेसन विभागका वरिष्ठ उपाध्यक्ष ग्रेग क्याथीले भने, “हामी खुद्रा व्यापारको परिभाषा नै पुनःनिर्धारण गर्न प्रतिबद्ध छौं, र ड्रोन डेलिभरी त्यसको एक प्रमुख हिस्सा हुनेछ।”
“हामी किनमेललाई अझ छिटो र सजिलो बनाउँदै आफ्ना ग्राहकहरूको सेवामा नयाँ उचाइमा पुग्दैछौं,” क्याथीले बिहीबार ब्लगमार्फत भने।
टेकक्रञ्चका अनुसार यो विस्तारले विङका लागि पनि अल्फाबेट एक्सको एक परियोजनाबाट व्यावसायिक कम्पनीमा रूपान्तरणको नयाँ मोड दर्शाउँछ। विंगले २०२३ मा वालमार्टसँग साझेदारी गर्दै ड्यालस क्षेत्रका दुई स्टोरमा पाइलट कार्यक्रम सुरु गरेको थियो, जसले करिब ६० हजार घरसम्म सेवा पु¥याएको थियो। अहिले यो सेवा ड्यालस-फोर्ट वर्थ क्षेत्रका १८ वालमार्ट सुपरसेन्टरहरूमा फैलिएको छ।
बिहीबारको घोषणाले विंगको वालमार्टसँगको सेवा लगभग पाँचगुणा विस्तार भएको देखाउँछ।
“हामी पाइलट र ट्रायल चरण पार गरिसकेका छौं र अब व्यवसाय विस्तार गर्ने चरणमा छौं,” विंगका सीईओ एडम वुडवर्थले दिएको अन्तर्वार्तामा भने। “हामी सधैं कामलाई राम्रोसँग गरेर अगाडि बढ्ने शैलीको कम्पनी हौं, र यो हाम्रो अहिलेसम्मकै ठूलो कदम हो।”
वुडवर्थका अनुसार ड्यालस-फोर्ट वर्थ क्षेत्रमा गरिएको पाइलट कार्यक्रम र त्यसको विस्तारको प्रक्रिया नै खुद्रा क्षेत्रमा विङको रणनीति तय गर्न उपयोगी भयो।
“हामीले विस्तार कसरी सफल भयो भन्ने कुरा डीएफडब्लूमा बुझ्यौं र अब त्यो मोडललाई अरू बजारमा ‘कपी-पेस्ट’ गर्दैछौं,” उनले भने।
हाल विङ लाभमा पुगेको छ कि छैन भन्ने वुडवर्थले खुलाएका छैनन्। तर उनले भने, कम्पनी अहिले खर्चलाई नियन्त्रणमा राख्दै सेवा विस्तारमा केन्द्रित छ।
विङको धारणा सस्तो, स्वचालित, सानो र हल्का ड्रोनहरू प्रयोग गरेर व्यवसाय निर्माण गर्ने हो। यस्ता भौतिक सम्पत्तिहरूका लागि उडान सञ्चालन र तालिम जस्ता स्थायी लागतहरू रहन्छन्।
मुख्य चुनौती भनेको थप जनशक्ति बिना नै ड्रोन र उडानहरूको संख्या कसरी बढाउने भन्नेमा केन्द्रित रहेको वुडवर्थले बताए।
प्रकाशित: २५ जेष्ठ २०८२, आईतवार