
काठमाडौं ।
ह्वाइट हाउसका अधिकारीहरूले सीईओ एलन मस्कसँग फोन संवादको तालिका बनाएपछि टेस्लाको सेयर शुक्रबार उकालो लागेका छन् भने लगानीकर्ताले केही राहत महसुस गरेका छन्। उक्त संवादको उद्देश्य मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सार्वजनिक रुपमा चर्किएको विवादलाई मिलाउने रहेको रोयटर्सले उल्लेख गरेको छ।
ट्रम्पले मस्कका कम्पनीहरूलाई दिइँदै आएको सरकारी ठेक्का काट्ने धम्की दिएका थिए, भने मस्कले ट्रम्पलाई महाभियोग लगाइनु पर्ने सुझाव दिएका थिए। यसले उनीहरूको सम्बन्ध सामाजिक सञ्जालमा खुला विवादमा परिणत भएको थियो।
टेस्लाको सेयर शुक्रबार फ्रान्कफर्टमा करिब ५ प्रतिशतले उकालो लागेको थियो। यसअघि बिहीबार न्यूयोर्कमा १४.३ प्रतिशतले घटेको टेस्लाले करिब १५० अर्ब डलरको बजार मूल्य गुमाएको थियो।
“ट्रम्पले टेस्लासँगको सहुलियत र ठेक्का अन्त्य गर्ने सम्भावना कम छ। ती धम्कीहरू व्यवहारिक हुने सम्भावना देखिँदैन,” सिटी इन्डेक्सकी वरिष्ठ बजार विश्लेषक फिओना सिनकोटाले भनिन्।
“म यो विवाद केही दिनको वाकयुद्धमा सीमित रहने र गम्भीर स्थितिमा नपुग्ने अपेक्षा गर्छु,” उनले भनिन्।
विश्लेषकहरूका अनुसार बिहीबारको सेयर बिक्री मस्क र ट्रम्पबीचको व्यक्तिगत सम्बन्धबाहेकका कारणले पनि भएको हो।
“हामीलाई लाग्छ सेयरको गिरावटका पछाडि अन्य कारणहरू छन्—पहिलो त्रैमासिकको आम्दानीपछि अनुचित रुपमा सेयर मूल्य बढ्नु, चीन र युरोपमा बजार हिस्सा गुमाउनु, र अष्टिनमा हुने रबोट्याक्सीको प्रक्षेपणले अपेक्षा अनुसार प्रदर्शन नदेखाउन सक्ने चिन्ता,” सीएफआरए रिसर्चका वरिष्ठ इक्विटी विश्लेषक ग्यारेट नेल्सनले लेखे।
“हामी अहिले ‘होल्ड’ सिफारिसमै छौं र नजिकको भविष्यमा अझै उतारचढाव आउने अपेक्षा गरेका छौं। तयार रहनुहोस्!” उनले भने।
नोभेम्बरमा ट्रम्प चुनाव जित्दा उच्च विन्दु छोएको टेस्लाको सेयर त्यसयता ठूलो गिरावटमा परेको छ। मस्कको अमेरिकी प्रशासनमा लागत कटौती भूमिकाले लगानीकर्ता र उपभोक्तामा टेस्लाको छवि कमजोर बनाएको हो।
टेस्लाको सेयर मूल्यले अहिले पनि वाल स्ट्रिटको “म्याग्निफिसेन्ट ७” क्लबमा गनिएको छ, यद्यपि बजार मूल्यको हिसाबले यो अहिले नवौँ स्थानमा झरेको छ। वारेन बफेटको बर्कशायर ह्याथवे र ब्रोडकम जस्ता कम्पनीहरू यसभन्दा माथि पुगेका छन्। टेस्ला अब १ ट्रिलियन डलरभन्दा बढी बजार मूल्य भएका कम्पनीहरूको सूचीबाट पनि बाहिरिएको छ।
प्रकाशित: २४ जेष्ठ २०८२, शनिबार