बीवाईडीले दक्षिण अफ्रिकामा आफ्नो डिलरशिप सञ्जाल तेब्बर बनाउने

  • Technology Khabar | २४ जेष्ठ २०८२, शनिबार
बीवाईडीले दक्षिण अफ्रिकामा आफ्नो डिलरशिप सञ्जाल तेब्बर बनाउने

काठमाडौं ।

चिनियाँ विद्युत् सवारीसाधन निर्माता बीवाईडीले दक्षिण अफ्रिकामा आफ्नो डिलरशिप सञ्जाल आगामी वर्षभित्र झन्डै तीनगुणा विस्तार गर्ने योजना बनाएको छ।

यो कदम अफ्रिकाको सबैभन्दा ठूलो अटोमोबाइल बजारमा प्रतिस्पर्धा बढ्दै गएको बेला आएको हो, जहाँ नयाँ ऊर्जा सवारीसाधनको बिक्री बढिरहेको छ र जीएसी, चेरी र जीडब्लूएमजस्ता अन्य चिनियाँ कम्पनीहरू पनि बजारमा प्रवेश गरिरहेका छन्।

रोयटर्सका अनुसार बीवाईडीले सन् २०२३ मा आफ्ना ब्याट्रीचालित एट्टो ३ सवारीसाधनसहित दक्षिण अफ्रिकामा आफ्नो सुरुआत गरेको थियो र हाल देशभर करिब १३ वटा डिलरशिपहरू छन्।

“वर्षको अन्त्यसम्ममा हामीसँग देशभर करिब २० वटा डिलरशिप हुनेछन्। अर्को वर्ष त्यसलाई झन्डै ३० वा ३५ सम्म पुर्‍याउने लक्ष्य लिएका छौं,” बीवाईडी अटो दक्षिण अफ्रिकाका महाप्रबन्धक स्टिभ चाङले बताए।

बीवाईडीले दक्षिण अफ्रिकी बजारमा हाल ६ वटा मोडेलहरू उपलब्ध गराएको छ। यसमा अप्रिलमा सार्वजनिक गरिएका प्लग-इन हाइब्रिड शार्क पिकअप, हाइब्रिड सीलायन ६ र शुद्ध विद्युतिय सीलायन ७ एसयूभी समावेश छन्, जसले कम्पनीको हाइब्रिड र इलेक्ट्रिक दुई-शक्ति रणनीति पूरा गर्छ।

डिलरशिपको विस्तारले बीवाईडी लाई देशभर बढी चिनिने ब्रान्ड बनाउन मद्दत गर्नेछ र बिस्तारै विद्युतीकरणतर्फ जाँदै गरेको बजारमा ग्राहकहरू आकर्षित गर्न सहयोग पुर्‍याउनेछ।

एक तथ्याङ्कअनुसार पूर्ण रूपमा ब्याट्रीबाट चल्ने विद्युतीय गाडी र प्लग-इन हाइब्रिड गाडीहरू रहेका नयाँ ऊर्जा सवारीसाधन (एनईभी) को बिक्री २०२४ मा १५,६११ युनिट पुगेको छ, जुन २०२३ मा ७,७८२ युनिट थियो।

चाङले बताए अनुसार भविष्यमा आउने ठुलो रूपान्तरणका लागि तयार रहन सकियोस् भन्ने हेतुले हाल एनईभीको कुल गाडी बिक्रीमा हिस्सेदारी कम भए पनि बीवाईडीले यो शुरुवाती चरणमै बजार समात्ने प्रयास गरिरहेको छ।

“हामी दक्षिण अफ्रिकाको बजारलाई शिक्षित र विकसित गर्न चाहन्छौं र उपभोक्ताहरूलाई बाँकी विश्वसँग बराबरी गर्न सक्ने बनाउने लक्ष्य लिएका छौं,” चाङले थपे।

प्रकाशित: २४ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार