
काठमाडौं ।
वैज्ञानिकहरूले विद्युतीय उत्पादन गर्ने ब्याक्टेरिया पत्ता लगाएका छन्। यसले भविष्यका आविष्कारहरूलाई शक्ति दिनुका साथै बायोटेक्नोलोजी र इनर्जि इण्डस्ट्री (ऊर्जा उद्योग) मा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने बताइएको छ।
राइस विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको टोलीले एक निश्चित प्रकारको ब्याक्टेरियाले अक्सिजन सास फेर्नको सट्टा इलेक्ट्रोनहरूलाई आफ्नो वरपर धकेल्ने प्राकृतिक प्रक्रिया प्रयोग गरेर बिजुली उत्पादन गरेर सास फेर्छन् भन्ने कुरा पत्ता लगाए छन्।
धेरैजसो जीवित जीवहरूले खाना पचाउन (फुड मेटाबोलाइज) गर्न र ऊर्जा उत्पादन गर्न अक्सिजनमा भर पर्छन् भने केही ब्याक्टेरियाले बाह्य सतहहरूमा इलेक्ट्रोनहरू स्थानान्तरण गर्न नेफ्थोक्विनोन भनिने प्राकृतिक कम्पाउण्ड प्रयोग गर्छन् भन्ने तथ्य अनुसन्धानकर्ताहरूले पत्ता लगाएका हुन्।
यो प्रक्रियालाई एक्स्ट्रासेलुलर रेस्पिरेसन भनिन्छ जसले ब्याट्रीहरूले विद्युतीय प्रवाह कसरी गर्छन् भन्ने कुराको नक्कल गर्दछ र जसले गर्दा ब्याक्टेरियालाई अक्सिजन बिना फस्टाउन अनुमति दिने सेल जर्नलमा प्रकाशित अध्ययनको निष्कर्षहरूले उल्लेख गरेको जनाइएको छ।
“श्वासप्रश्वासको यो नयाँ पत्ता लागेको संयन्त्र काम सम्पन्न गर्ने एक सरल र नौलो तरिका हो। कोषबाट इलेक्ट्रोनहरू बाहिर निकाल्छन् जसले गर्दा ब्याक्टेरियाले खाना पचाउन र ऊर्जा उत्पन्न गर्नसकुन भनेर नेफ्थोक्विनोनहरूले मोलिकुलर (आणविक) कुरियरहरू जस्तै काम गर्छन्” राइस डक्टरेटका विद्यार्थी र अध्ययनका पहिलो लेखक बिकी बापी कुन्डुले भने।
वैज्ञानिकहरूले लामो समयदेखि बायोटेक्नोलोजीमा श्वासप्रश्वासको यो असामान्य मोडलाई प्रयोग गर्दै आएका छन्। तर उनीहरूले यसको पछाडिको संयन्त्र पत्ता लगाउन सफल भएको यो पहिलो पटक हो।
अनुसन्धानकर्ताहरूले उन्नत कम्प्युटर मोडलिङ प्रयोग गरेर अक्सिजन नभएको तर कन्डक्टिभ सर्फेस (प्रवाहकीय सतह) हरूले भरिपूर्ण वातावरणमा ब्याक्टेरियाको वृद्धिलाई उत्तेजित गरेका थिए। ब्याक्टेरिया बाह्य रूपमा इलेक्ट्रोनहरू डिस्चार्ज गरेर बाँच्न सक्छन् भन्ने नतिजाहरूले देखाएको उल्लेख गरिएको छ। त्यसैगरी थप परीक्षणहरूले कन्डक्टिभ म्याटेरियल्स (प्रवाहकीय सामग्रीहरू) मा राखिएका ब्याक्टेरियाहरू प्रभावकारी रूपमा सतहबाट सास फेर्दै फस्टाउन र बिजुली उत्पादन गर्न जारी राखेको उल्लेख गरिएको छ।
वास्तविक जीवनको प्रभावः
अध्ययनको निष्कर्षहरूको दूरगामी, वास्तविक जीवनको प्रभाव हुन सक्ने बताइएको छ। बिजुली–श्वास छोड्ने ब्याक्टेरियाले फोहोर पानी प्रशोधन र जैविक उत्पादन जस्ता जैविक प्रविधि प्रक्रियाहरूमा इलेक्ट्रोन असंतुलन समाधान गर्न मद्दत गर्न सक्छ। यसले चिकित्सा निदान, प्रदूषण अनुगमन र गहिरो–अन्तरिक्ष अन्वेषणको लागि नयाँ टुलहरू विकास गर्न पनि मद्दत गर्न सक्छ।
“हाम्रो अनुसन्धानले लामो समयदेखि चलिरहेको वैज्ञानिक रहस्य मात्र समाधान गर्दैन, तर यसले प्रकृतिमा नयाँ र सम्भावित रूपमा व्यापक बाँच्ने रणनीतिलाई पनि औंल्याउँछ” अध्ययनको नेतृत्व गर्ने राइस विश्वविद्यालयका बायोसाइन्सका प्राध्यापक क्यारोलिन अजो–फ्र्याङ्कलिनले भनिन्।
“यसले जीवविज्ञानलाई केन्द्रमा राखेर स्मार्ट, थप दिगो प्रविधिहरू निर्माण गर्ने ढोका खोल्छ” उनले बताएको एनडीटिभीले रिपोर्ट गरेको छ।
प्रकाशित: २० जेष्ठ २०८२, मंगलवार