ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा

  • Technology Khabar | १५ जेष्ठ २०८२, बिहीबार
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा

काठमाडौं ।

डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिएको ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ। बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध गराएको हो।

यससँगै अन्तर्राष्ट्रिय अनलाइन किनमेल तथा सेवा सदस्यता जस्ता कार्यका लागि आवश्यक अमेरिकी डलर आफ्नै मोबाइलबाट सेवाग्राही आफैंले तुरुन्तै कार्डमा लोड गर्न सक्ने भएका छन्। भिसा ब्रान्डको यो कार्ड अन्तर्राष्ट्रिय कारोबारका लागि मान्य हुने बैंकले जनाएको छ।

रियल टाइम लोड सुविधा उपलब्ध भएसँगै डलर कार्डमा रकम लोड गर्न शाखामा गइरहनुपर्ने झन्झट अन्त्य भएको छ। मोबाइल एपबाट तुरुन्तै रकम लोड गर्न सकिने भएकाले अनलाइन किनमेल, अन्तर्राष्ट्रिय सब्स्क्रिप्सनहरू र अन्य डिजिटल सेवाहरूको भुक्तानी सहजै गर्न सकिन्छ।

यसले समय, ऊर्जा र लागतमा बचत गर्नुका साथै विश्वव्यापी अनलाइन कारोबारमा सहज पहुँच प्रदान गर्ने बैंकको विश्वास छ।

भर्चुअल कार्ड जारी गर्दा सेवाग्राहीले पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्छ भने नवीकरण शुल्क वार्षिक तीन सय रुपैयाँ तोकिएको छ। मोबाइल बैंकिङमार्फत टप-अप गर्दा भने कुनै शुल्क लाग्दैन्।

ई-कम डलर कार्डमार्फत वार्षिक अधिकतम ५ सय डलरसम्म कारोबार गर्न सकिनेछ । सेवा लिन ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एप प्रयोग गरी सजिलै अनलाइन आवेदन दिन सक्नेछन्।

‘ग्लोबल स्मार्ट प्लस’ एपले बैंकिङ सेवालाई छिटो, सुरक्षित र प्रयोगमैत्री बनाउँदै आएको छ। यस एपमार्फत खाताको व्यवस्थापन, रकम ट्रान्सफर, बिल भुक्तानी, क्यूआर पेमेन्ट, वालेट लोडलगायतका सेवा सहज रूपमा उपलब्ध छन्। अब यसमा थपिएको रियल टाइम डलर कार्ड टप-अप सुविधा विशेष आकर्षणको रूपमा रहने बैंकले जनाएको छ।

प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...