
काठमाडौं ।
हवाईयन ज्वालामुखी चट्टानहरूको एक अभूतपूर्व अध्ययनले पृथ्वीको कोर (केन्द्र) बाट सुन र अन्य बहुमूल्य धातुहरू सतहमा चुहिरहेको(निस्किरहेको) फेला पारेको छ।
पृथ्वीको ९९.९९ प्रतिशत भन्दा बढी सुन र रुथेनियम जस्ता बहुमूल्य धातुहरू मेटालिक कोरमा फसेका छन् जुन ३,००० किलोमिटर ठोस चट्टान मुनि गाडिएको छ भनि साइन्स अलर्टले रिपोर्ट गरेको छ।
यी बहुमूल्य धातुका स्रोतहरू ४.५ अर्ब वर्ष पहिले ग्रहको निर्माण भएदेखि नै बन्द भएर पृथ्वी भित्र लुकेर बसेको बताइएको छ। साथै यो रिसर्च (अनुसन्धान) नेचर मा प्रकाशित भएको छ।
हालै, गोटिंगेन विश्वविद्यालयको टोलीले ट्रेस इलिमेण्टहरू पत्ता लगाउन उन्नत आइसोटोपिक विश्लेषण प्रविधिहरू प्रयोग गर्दै हवाईयन ज्वालामुखी चट्टानहरूमा एक अध्ययन सञ्चालन गरेको उल्लेख छ।
तिनीहरूले एक निश्चित प्रकारको रुथेनियम आइसोटोपको असामान्य रूपमा उच्च स्तर/मात्रा फेला पारेको बताइएको छ, जुन पृथ्वीको म्याण्टल (बाहिरी तह)मा भन्दा यसको कोर (केन्द्र)मा बढी पाइने गरेको बताइएको छ। यसले लाभा पदार्थ ग्रह भित्रको गहिरो गर्भबाट उत्पन्न भएको सुझाव दिन्छ भनि उल्लेख गरिएको छ।
“जब पहिलो नतिजा आयो, हामीले साँच्चै सुनलाई प्रहार गर्यौं भन्ने महसुस गर्यौं! सुन र अन्य बहुमूल्य धातुहरू सहित कोरका सामग्रीहरु पृथ्वीको माथिको म्याण्टल (बाहिरी तह)मा चुहिँदैछ भन्ने तथ्य हाम्रो तथ्याङ्कले पुष्टि गरेको छ” भनि जर्मनीको गोटिंगेन विश्वविद्यालयका भू–रसायनविद् निल्स मेस्लिङले बताएका छन्।
ज्वालामुखी विस्फोटको समयमा कोरभित्रका सामग्री सतहमा पुग्दै गर्दा अध्ययनले पृथ्वीको कोर पहिले सोचेको भन्दा कम पृथक रहेको देखाएको र यसले भविष्यका अनुसन्धानलाई अवसरहरू प्रदान गर्ने उल्लेख गरिएको छ।
रुथेनियम आइसोटोपहरूले कोर–म्याण्टल अन्तरक्रियाहरूको अध्ययनको लागि एक नयाँ ट्रेसरको रूपमा काम गर्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। कोर–म्याण्टल बाउण्ड्री (सीमा) नजिकका सयौं क्वाड्रिलियन मेट्रिक टन सुपरहिटेड सामग्री पछि गएर हवाई जस्ता महासागर टापुहरू बन्न पुग्ने गरेको विश्लेषणले थप उल्लेख गरेको छ।
“हाम्रा निष्कर्षहरूले पृथ्वीको कोर पहिले अनुमान गरिएको जस्तो पृथक नभएको मात्र देखाउँदैनन्। हामी अब यो पनि प्रमाणित गर्न सक्छौं कि सुपर–हिटेड म्याण्टल म्याटेरियल (सामग्री) को विशाल मात्रा, सय भन्दा धेरै क्वाड्रिलियन मेट्रिक टन चट्टान, कोर–म्याण्टल बाउण्ड्री (सीमा) बाट उत्पन्न हुन्छ र हवाई जस्ता महासागर टापुहरू बनाउन पृथ्वीको सतहमा उठ्छ” भन्दै अध्ययनका सह–लेखक प्रोफेसर म्याथियास विलबोल्डले निष्कर्षहरूको महत्त्वलाई जोड दिएका छन्।
विश्वको केही सुन र बहुमूल्य धातु आपूर्तिहरू पृथ्वीको कोरबाट उत्पन्न भएको हुन सक्छ भन्ने अध्ययनको निष्कर्षले थप सुझाव दिएको छ। यद्यपि, अनुसन्धानकर्ताहरू अझै पनि अध्ययनमा अवलोकन गरिएको कोर–लीकिङ प्रोसेस (चुहावट प्रक्रिया) ग्रहको इतिहासभरि एक निरन्तर घटना हो वा होइन भन्ने बारेमा भने निश्चित हुन नसकेको बताइएको छ।
“हाम्रा खोजहरूले हाम्रो होम प्लानेट (गृह ग्रह) को भित्री गतिशीलताको विकासमा पूर्ण रूपमा नयाँ दृष्टिकोण थपेका छन्” भनि अध्ययनले उल्लेख गरेको एनडीटिभीले रिपोर्ट गरेको छ।
प्रकाशित: १४ जेष्ठ २०८२, बुधबार