Technology Khabar ११ जेष्ठ २०८२, आईतवार
काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय रामेछापले ‘क्युआर कोड बाट गुनासो गर्न मिल्ने व्यवस्था गरेको छ। जिल्ला प्रशासनले केहो दिनदेखि ‘क्युआर कोड’ मार्फत गुनासो गर्न सकिने प्रणाली सञ्चालन गरेको हो।
प्रशासनले सुरु गरेको क्युआर कोड’ मार्फत गुनासो गर्न सकिने व्यवस्था अहिलेको आवश्यकता भएको मन्थली नगरपालिका-९, पुरानागाउँबाट सेवा लिन आएका राज श्रेष्ठले बताए।
उनले भने, “जिल्ला प्रशासनले भर्खर भर्खर ‘क्युआर कोड’ मार्फत गुनासो गर्न सकिने व्यवस्था गरेको रहेछ। सूचना प्रविधिको युगमा सबै कार्यालयले आफ्ना सेवालाई प्रविधियुक्त बनाउन आवश्यक छ। ‘क्युआर कोड मार्फत आएका गुनासोको व्यवस्थापन र कार्यान्वयनमा गम्भीर बन्नु पर्छ।”
जिल्ला प्रशासनसहित जिल्लास्थित सबै सरकारी कार्यालयको सेवाबारे क्युआर कोड’ मार्फत गुनासो गर्न सकिने भनिए पनि गुनासोको सुनुवाइमा भने सेवाग्राहोमा राइका रहेको उनले बताए।
जिल्ला प्रशासनसहित रामेछापका ३२ वटा सरकारी कार्यालयले प्रदान गर्ने सेवाका बारेमा कुनै गुनासो भए सेवाग्राहीले क्यूआर कोड’ मार्फत राख्न सक्ने प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए। यसले सेवाप्रदायक कार्यालयको सेवाबारे गुनासो गर्न सहज हुने विश्वास लिइएको उनले उल्लेख गरे।
कार्यालयको सेवा प्रवाह चुस्तदुरुस्त, पारदर्शी र व्यवस्थित बनाउन नागरिक बडापत्रमार्फत कार्यालयले ‘क्युआर कोड’ बाट गुनासो गर्न सकिने प्रणाली सुरु गरेको उनले बताए। प्राप्त गुनासा प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रजिअ थापाको भनाइ छ।
आजको गोरखापत्रबाट
प्रकाशित: ११ जेष्ठ २०८२, आईतवार