
काठमाडौं ।
टिण्डरकी सीईओ फे इओसोतलुनोले आगामी जुलाईमा पदबाट राजीनामा दिने भएकी छन्।
लिंक्डइन मा सार्वजनिक गरिएको पोस्टमार्फत इओसोतलुनोले आफू जुलाईमा पदबाट सर्ने घोषणा गरेकी हुन्। उनले सीईओ को रूपमा एक वर्षभन्दा कम समय काम गरेकी थिइन् भने टिण्डर मा उनले लगभग आठ वर्ष बिताएकी थिइन्। टिण्डर, म्याच ग्रुप अन्तर्गतको कम्पनी हो।
पोस्टमा उनले लेखेकी छन्, “उत्कृष्ट टिम निर्माण गर्न र उनीहरूसँग काम गर्न पाउनुमा म विशेष गर्व गर्छु।” उनले आफ्नो आगामी योजना “धेरै व्यक्तिगत” रहेको उल्लेख गरेकी छन्।
“कन्ज्युमर टेक्नोलोजीको क्षेत्र उत्साहजनक र अप्रत्याशित तरिकाले परिवर्तन हुँदैछ — र मेरा आकांक्षाहरू पनि त्यसैअनुसार विकसित भइरहेका छन्,” उनले लेखेकी छन्। “टिण्डर मा मैले पाएको अनुभव र विभिन्न आवाजहरूले निर्णयलाई अझ राम्रो र प्रभावकारी बनाउँछन् भन्ने सिकाइको आधारमा म अब महिला नेतृ, संस्थापक र लगानीकर्ताहरूको अर्को पुस्तालाई सहयोग र निर्माण गर्नतिर आकर्षित भएकी छु।”
यसैबीच म्याच ग्रुपका सीईओ स्पेन्सर रास्कफले छुट्टै पोस्टमा टिण्डर टिमको नेतृत्व आफूले गर्ने बताएका टेकक्रञ्चले उल्लेख गरेको छ।
“पछिल्ला केही महिनामा यो संक्रमण सहज बनाउन सँगै बिताएको समयको लागि म आभारी छु,” उनले लेखेका छन्। “अब म टिमको नेतृत्व गर्न जाँदैछु, तपाईंले बनाएको गति र जोशले मलाई ऊर्जा दिएको छ र म हाल रहेका उत्कृष्ट नेताहरूसँग काम जारी राख्न उत्साहित छु।”
ब्लूमबर्गको रिपोर्टअनुसार म्याच ग्रुप टिण्डर को वृद्धिदर बढाउने उपायहरू खोज्दैछ। यसै महिनाको सुरुमा, म्याच ग्रुपले लागत घटाउन र निर्णय प्रक्रियालाई छरितो बनाउन १३ प्रतिशत कर्मचारी कटौती गरेको थियो, जसको ठूलो हिस्सा टिण्डर मा परेको बताइएको छ।
प्रकाशित: ११ जेष्ठ २०८२, आईतवार