
काठमाडौं ।
चिनियाँ कम्पनी शाओमीले यस हप्ता बिहीवार आफ्नो निकै प्रतिक्षित वाईयू७ इलेक्ट्रिक स्पोर्ट्स युटिलिटी गाडी (एसयूभी) सार्वजनिक गर्ने भएको छ। सोही कार्यक्रममा कम्पनीले आफैंले विकास गरेको मोबाइल चिप लगायतका अन्य उत्पादनहरू पनि सार्वजनिक गर्ने जनाएको छ।
विश्लेषकहरूले वाईयू७ लाई चीनको सबैभन्दा ठूलो गाडी बजारमा टेस्लाको सबैभन्दा बढी बिक्री भएको मोडल वाई सँग प्रतिस्पर्धा गर्न सक्ने गाडीको रूपमा हेरेका छन्। गत महिना शाङ्घाई अटो शोमा शाओमीले गाडी नदेखाउँदा धेरै प्रशंसकहरू निराश भएका थिए।
शाओमीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत लेई जुनले सोमबार आफ्नो वीबो खातामा वाईयू७ गाडी नयाँ श्रीङ ओ१ मोबाइल चिप र नयाँ शाओमी १५एस प्रो स्मार्टफोनसँगै बिहीवार सार्वजनिक गरिने जानकारी दिएका हुन्।
रोयटर्सका अनुसार शाओमीले गत वर्ष एसयू७ सेडान गाडी सार्वजनिक गर्दै इलेक्ट्रिक गाडी उत्पादन सुरु गरेको थियो। यसअघि कम्पनीले १५ वर्षसम्म स्मार्टफोन, घरेलु उपकरण र स्मार्ट ग्याजेटहरू मात्र उत्पादन गर्दै आएको थियो। सन् २०२३ डिसेम्बरदेखि एसयू७ सेडानले टेस्लाको मोडल ३ भन्दा महिनावारी बिक्रीमा अग्रता लिइरहेको विश्लेषकहरूले बताएका छन्।
यद्यपि, मार्च महिनामा एसयू७ गाडीको दुर्घटनामा एक जनाको ज्यान गएपछि उक्त गाडीको अर्डरमा कमी आएको पनि विश्लेषकहरूले बताएका छन्।
इलेक्ट्रिक गाडीको प्रतिस्पर्धासँगै चीनको स्मार्टफोन बजारमा पनि प्रतिस्पर्धा चर्किएको छ। हुवावे र एप्पल जस्ता प्रतिस्पर्धी कम्पनीहरूले आफ्नै डिजाइन गरेका चिपमार्फत प्रयोगकर्तालाई अझ राम्रो अनुभव दिने प्रयास गरिरहेका छन्।
एक फरक वीबो पोस्टमा लेई जुनले शाओमीले मोबाइल चिप श्रिङ ओ१ को विकासमा १३.५ अर्ब युआन (१.८७ अर्ब डलर) लगानी गरेको बताएका छन्। साथै उनले कम्तीमा ५० अर्ब युआनको थप लगानी कम्तीमा १० वर्षको अवधिमा चिप डिजाइनमा गर्ने योजना रहेको बताएका छन्।
शाओमीका प्रतिनिधिले रोयटर्सलाई ५० अर्ब युआन लगानी योजना सन् २०२५ देखि सुरु हुने बताएका छन्।
शाओमीले सन् २०१४ मा चिप डिजाइन गर्न सुरु गरेको थियो र सन् २०१७ मा पहिलो मोबाइल प्रोसेसर २८-न्यानोमिटर पेङपाई एस१ सार्वजनिक गरेको थियो, जुन शाओमी ५सी स्मार्टफोनमा प्रयोग गरिएको थियो।
तर विभिन्न चुनौतीहरूका कारण कम्पनीले पछि ब्याट्री व्यवस्थापन र इमेज प्रोसेसिङ जस्ता कम जटिल चिपहरूमा ध्यान केन्द्रित गरेको थियो। सन् २०२१ मा गाडी उत्पादन गर्ने निर्णयसँगै शाओमीले फेरि मोबाइल चिप विकासमा फर्कने निर्णय गरेको थियो।
“शाओमीसँग सधैं एउटा चिप सपना रहँदै आएको छ, किनभने उत्कृष्ट हार्ड टेक्नोलोजी कम्पनी बन्न चिप एउटा यस्तो शिखर हो, जसलाई चढ्नैपर्छ,” लेई जुनले भने, “हामी पूर्ण प्रयास गर्नेछौं।”
प्रकाशित: ६ जेष्ठ २०८२, मंगलवार