नासाको जेम्स वेब टेलिस्कोपले पहिलो पटक टाढाको तारा प्रणालीमा जमेको पानी भेट्यो

Technology Khabar ६ जेष्ठ २०८२, मंगलवार

नासाको जेम्स वेब टेलिस्कोपले पहिलो पटक टाढाको तारा प्रणालीमा जमेको पानी भेट्यो
तस्विर: नासा

काठमाडौं ।

नासाको जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्ल्यूएसटी) प्रयोग गरेर, खगोलविद्हरूको एक टोलीले टाढाको तर युवा तारा प्रणाली (योङ्ग स्टार सिस्टम) मा जमेको पानीको उपस्थिति पुष्टि गरेको छ। वैज्ञानिकहरूले हाम्रो सौर्यमण्डलमा प्रशस्त पानीको बरफ फेला पारे पनि उनीहरूले अन्य तारा प्रणालीहरूमा जमेको पानीको निश्चित प्रमाण फेला पारेको यो पहिलो पटक हो।

क्रिस्टलाइन पानीको बरफ धुलोले भरिएको डेब्री डिस्कमा फेला परेको छ जसले केवल २ करोड ३० लाख (२३ मिलियन) वर्ष पुरानो, १५५ प्रकाश वर्ष टाढा रहेको सूर्य जस्तो ताराको परिक्रमा गर्दछ भनि नेचर जर्नलमा प्रकाशित विवरणहरूमा उलेख गरिएको छ। यो तारा सूर्य भन्दा अलि बढी विशाल र तातो भएको बताइएको छ जसले गर्दा यसको वरिपरि अलि ठूलो प्रणालीको बनेको उल्लेख गरिएको छ।

वेबको खोजले एचडी १८१३२७ नामक तारा र यसको डेब्री डिस्क बीच उल्लेखनीय ग्याप (खाडल) रहेको देखाएको छ जुन हाम्रो सौर्यमण्डलको कुइपर बेल्ट जस्तै समान भएको उल्लेख गरिएको छ।

“वेबले स्पष्ट रूपमा पानीको बरफ मात्र होइन, तर क्रिस्टलाइन पानीको बरफ पनि पत्ता लगायो, जुन शनिको रिङ्ग (घेरा) र हाम्रो सौर्यमण्डलको कुइपर बेल्टमा रहेको बरफ पिण्ड जस्ता स्थानहरूमा पनि पाइन्छ” नयाँ पेपरका प्रमुख लेखक चेन झीले भने।

“एचडी १८१३२७ एक धेरै सक्रिय प्रणाली हो। यसको डेब्री डिस्कमा नियमित, निरन्तर टक्करहरू हुन्छन्। जब ती बरफ पिण्डहरू ठोक्किन्छन्, तिनीहरूले धुलो पानीको बरफका साना कणहरू सिर्जना गर्छन् जुन वेबले सजिलै फेला पार्न सक्छ” उनले थप उल्लेख गरे।

समान क्षेत्रमा पानीको बरफको उपस्थितिले ब्रह्माण्डभरि ग्रह प्रणालीहरू कसरी विकसित हुन्छन् भन्ने ढाँचालाई औंल्याउन सक्छ। यो केवल संयोग मात्र नभइ हामीले अर्को ताराको वरिपरि देखेको पहिलो पुष्टि भएको पानीको बरफले हाम्रो सौर्यमण्डलको वितरणलाई प्रतिबिम्बित गर्दछ।

त्यसैगरी, पानीको बरफ यस प्रणालीभरि समान रूपमा नफैलिएको र, यसको अधिकांश भाग ताराबाट सबैभन्दा टाढा रहेका सबैभन्दा चिसो ठाउँमा फेला परेको छ।

“डेब्री डिस्कको बीचमा, वेबले लगभग आठ प्रतिशत पानीको बरफ पत्ता लगाएको छ। यहाँ, जमेको पानीका कणहरू नष्ट हुनुभन्दा अलि छिटो उत्पादन हुने सम्भावना छ” भनि उल्लेख गरे।

वैज्ञानिकहरूले लामो समयदेखि बरफ डेब्री (भग्नावशेष) डिस्कहरूमा उपस्थित हुन सक्ने धारणा राखेका छन् भने वेब अघि, उनीहरूसँग यस्ता अवलोकनहरू गर्न पर्याप्त संवेदनशील उपकरणहरू थिएनन्। एचडी १८१३२७ को सफलता पछि, अनुसन्धानकर्ताहरूले मिल्की वे ग्यालेक्सीभरि सक्रिय रूपमा ग्रह प्रणालीहरू गठन गर्न डेब्री (भग्नावशेष) डिस्कहरूमा पानीको बरफ खोज्न र अध्ययन गर्न आफ्नो प्रयास बढाउने अपेक्षा गरिएको एनडीटिभीले रिपोर्ट गरेको छ।

प्रकाशित: ६ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया