अघिल्लो वर्षको तुलनामा नेपाल टेलिकमको तेस्रो त्रैमासिकको नाफा करिब ४९ प्रतिशतले घट्यो

Technology Khabar ५ जेष्ठ २०८२, सोमबार

अघिल्लो वर्षको तुलनामा नेपाल टेलिकमको तेस्रो त्रैमासिकको नाफा करिब ४९ प्रतिशतले घट्यो
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमको आव २०८१/८२ को तेस्रो त्रैमासिक (चैत्र मसान्त) को नाफामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब आधाले घटेको छ।

नेपाल टेलिकमले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस आवको तेस्रो त्रैमासिकसम्म खुद मुनाफा रु २ अर्ब ८४ करोड २२ लाख ८९ हजार रहेको छ। उक्त रकम गत आवको सोहि अवधिको खुद मुनाफा रु ५ अर्व ५३ करोड ७५ लाख ६२ हजारको तुलनामा रु २ अर्ब ६९ करोड ५२ लाख ७३ हजार (अर्थात् ४८ दशमलब ६७ प्रतिशत) ले कमी भएको देखिएको छ।

यसैगरी कम्पनीको प्रति शेयर आम्दानी समेत घट्दै गएर हाल रु २१.०५ रहेको छ।

कम्पनीको नाफामा कमी आउनुका साथसाथै संचालन र कुल आम्दानीमा समेत गिरावट देखिएको छ।

तथ्यांकअनुसार यस आवको तेस्रो त्रैमासिकसम्म कुल सञ्चालन आय रु २५ अर्व ३१ करोड ७६ लाख १३ हजार रहेको छ। उक्त रकम गत आवको सोही अवधिको कुल सञ्चालन आय रु २५ अर्व ४८ करोड १२ लाख ८९ हजारको तुलनामा रु १६ करोड ३६ लाख ७५ हजारको (अर्थात् शुन्य दशमलब ६४ प्रतिशत) ले कम हो।

यसैगरी यस आवको तेस्रो त्रैमासिकसम्म कुल आय रु २८ अर्ब ४३ करोड १५ लाख ६६ हजार रहेको छ। उक्त रकम गत आवको सोहि अवधिको कुल आय रु ३१ अर्व २० करोड ४८ लाख ५८ हजारको तुलनामा रु २ अर्ब ७७ करोड ३२ लाख ९१ हजार (अर्थात् ८ दशमलब ८९ प्रतिशत) ले कमी भएको देखिन्छ।

यस आवको तेस्रो त्रैमासिकसम्म कर र ब्याज भन्दा अगाडिको नाफा Earnings Before Interest, Taxes, Depreciation and  Amortization (EBITDA) रु। १४ अर्व १९ करोड २१ लाख ९२ हजार रहेको। उक्त रकम गत आवको सोहि अवधिको कर अघिको मुनाफा रु १३ अर्व ४० करोड २९ लाख ४५ हजारको तुलनामा रु ७८ करोड ९२ लाख ४६ हजार (अर्थात् ५ दशमलब ८९ प्रतिशत) ले बढी भएको उल्लेख छ।

यस आवको तेस्रो त्रैमासिकसम्म कर अघिको मुनाफा रु ८ अर्ब ६२ करोड ५४ लाख ४ हजार रहेको छ। उक्त रकम गत आवको सोहि अवधिको कर अघिको मुनाफा रु ७ अर्ब ३८ करोड ३३ लाख ६३ हजारको तुलनामा रु १ अर्ब २४ करोड २० लाख ४० हजार (अर्थात् १६.८२ प्रतिशत) ले बढी भएको तथ्यांकमा उल्लेख छ।

कम्पनीकाअनुसार, राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरु निम्नानुसार छन्:-

ओटीटी सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आवको तेस्रो त्रैमासिकसम्मको तुलनामा करिब रु ५३ करोड ५५ लाख ६६ हजार (अर्थात् २२ दशमलब ३७ प्रतिशत) ले कम भएको छ। साथै ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस र एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ।

कम्पनीले गत वर्ष जीएसएम सेवाको अनुमति पत्र नवीकरणको लागि २० अर्ब रुपैयाँ एकमुष्ठ भुक्तानी गर्नुपरेको र सञ्चालक समितिको निर्णय बमोजिम कर्मचारीहरुको निवृत्तिभरणको व्यवस्थाको लागि गत वर्ष रु ४ अर्ब ९७ करोड र यस आवको तेस्रो त्रैमासिकसम्म करिब रु १३ अर्ब १५ करोड छुट्टयाए पश्चात लगानीमा भएको कमी तथा ब्याज दर क्रमिक रूपमा घट्नुको कारणले व्याज आयमा गत आवको तेस्रो त्रैमासिकसम्मको तुलनामा व्याज आय करिब रु २ अर्ब ३८ करोड ९७ लाख ९६ हजार (अर्थात् ४६ दशममलब ०२ प्रतिशत) ले घटी भएको छ।

प्रतिस्पर्धी आईएसपीहरुले मोबिलिटी गरि वाईफाई सेवा दिइरहेकोले मोबाइल र डाटाको प्रयोगमा उल्लेखनीय कमी भएको छ।

राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको छ।

सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको छ।

कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा यस आवमा रु १३ अर्ब १५ करोड डिफाइन्ड बेनिफिट एसेट्स (Defined Benefit Assets) मा थप रकम छुट्टाईएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको छ।

कम्पनीले गत वर्षसम्म आक्समिक दायित्व (Contingent Liabilities)  मा देखाएको केही मुद्दाहरुको यस आवमा छिनोफानो भई कम्पनीलाई परेको थप आर्थिक भारलाई चालु आवमा व्यवस्था गरिएको छ।

प्रकाशित: ५ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया