Technology Khabar ३१ बैशाख २०८२, बुधबार
काठमाडौं ।
महालेखा परीक्षकको बासठ्ठिऔं प्रतिवेदनले विभिन्न ९ दूरसञ्चार सेवा प्रदायकहरुले रोयल्टी र जरिवाना नबुझाएको भन्दै असुल गर्नुपर्ने देखाएको छ।
आज सार्वजनिक गरिएको आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदनअनुसार विभिन्न ९ दुरसंचार सेवा प्रदायक संस्थाले गत वर्षको आय बुझाउनुपर्ने रोयल्टी र जरिवानासमेत रु. १३ करोड ७ लाख नबुझाएको देखाएको हो।
यसैगरी सात सेवा प्रदायकले ग्राहकसँग मर्मत तथा विभिन्न शुल्क बापत प्राप्त गरेको आम्दानीको रोयल्टी र जरिबानासमेत रु.१ करोड ४२ लाख ५४ हजार छुट भएको देखिएकोले उक्त रकम असुल गर्नुपर्ने उल्लेख छ।
त्यस्तै रेडियो फ्रिक्वेन्सी दस्तुर प्रत्येक वर्ष समाप्त भएको ६ महिनाभित्र भुक्तानी गर्नुपर्ने, न्यूनतम फ्रिक्वेसी बाहेक थप फ्रिक्वेन्सी, अधिकतम फ्रिक्वेन्सी र भिस्याटको दस्तुर प्रत्येक आर्थिक वर्षको लागि सो आर्थिक वर्ष सुरु भएको ३ महिनाभित्र अग्रिम भुक्तानी गर्नुपर्ने र नगरेमा बाँकी दस्तुरमा थप दस्तुरसमेत लाग्ने व्यवस्था रहेको उल्लेख गर्दै प्रतिवेदनमा लेखेको छ, ‘यो वर्ष १ सेवा प्रदायकले बुझाउनुपर्ने फ्रिक्वेन्सी तथा भिस्याट दस्तुरबापत रु.२४ करोड ३४ लाख दाखिला गर्न बाँकी देखिएकोले असुल गर्नुपर्दछ।’
प्रकाशित: ३१ बैशाख २०८२, बुधबार