
काठमाडौं ।
चीनले विज्ञान सम्बन्धी बढ्दो माग पूरा गर्न र सम्भावित अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्न आफ्नो गरिरहेको छ।
चीनको सबैभन्दा शक्तिशाली रकेट मानिएको लङ मार्च ५बी आगामी तियानगोंग मोड्युलहरू प्रक्षेपण गर्न प्रयोग गरिनेछ भन्ने जानकारी चीनको सरकारी अन्तरिक्ष निकाय ‘चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसन (सीएएसी)’ का वाङ जुएले अप्रिल ३० मा चीन केन्द्रीय टेलिभिजन सीसीटीभीलाई दिएका छन्।
“योजनाअनुसार, लङ मार्च ५बी रकेटले भविष्यमा क्रू सवार अन्तरिक्ष स्टेशनका लागि थप मोड्युलहरूको प्रक्षेपण गर्नेछ,” वाङले भनेका छन्।
हालसम्म यस्ता मिसनहरूको लागि कुनै आधिकारिक समयसीमा सार्वजनिक गरिएको छैन, तर वाङका टिप्पणीहरूले २०२१–२०२२ मा निर्माण गरिएको टी-आकारको तीन मोड्युलयुक्त कक्षीय तियाङगोङ स्टेशनमा थप मोड्युलहरू थप्ने योजना पुष्टि गर्ने संकेत दिन्छ।
चीनका अन्तरिक्ष अधिकारीहरूले विगत केही वर्षमा तियाङगोङ विस्तार गर्ने सम्भावनाबारे पटक–पटक उल्लेख गरेका छन्। तर सीसीटीभीको रिपोर्टले प्रयोगात्मक माग बढिरहेको र त्यसले अन्तरिक्ष स्टेशनमा उपलब्ध स्थान र ऊर्जा आपूर्तिमा थप चुनौतीहरू सिर्जना गरिरहेको बताएको छ।
अघिल्ला रिपोर्टहरूअनुसार, एउटा बहु-प्रयोगयुक्त विस्तार मोड्युल पहिलो नयाँ मोड्युलका रूपमा प्रक्षेपण हुन सक्छ। उक्त मोड्युलमा ६ वटा डकिङ पोर्ट हुनेछन् र यो तियानगोंगको मूल तियानहे मोड्युलसँग जडान हुनेछ, जसले थप मोड्युलहरू एकीकृत गर्न सम्भव बनाउने स्पेसन्युज डटकमले उल्लेख गरेको छ।
तियाङगोङको विस्तारले विज्ञान, पेलोड राख्ने क्षमता र विशेषगरी मानवयुक्त मिसनहरूका लागि अन्तर्राष्ट्रिय सहकार्यका अवसरहरू बढाउने अपेक्षा गरिएको छ।
यसै वर्षको सुरुमा, चीनको मानव अन्तरिक्ष उडान निकायले पाकिस्तानका अन्तरिक्ष यात्रीलाई तियानगोंगमा पठाउन तालिम दिइरहेको घोषणा गरिसकेको छ, जसअनुसार उनीहरू तियाङगोङ पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री हुनेछन्। निकायका एक अधिकारीले अप्रिलमा अन्य देशहरूसँग पनि आफ्ना अन्तरिक्ष यात्री पठाउनेबारे छलफल भइरहेको जानकारी दिएका थिए।
चीनले दुई संस्करणमा नयाँ पुस्ताको मानवयुक्त अन्तरिक्ष यान विकास गरिरहेको छ— एक पृथ्वीको तल्लो कक्ष (एलईओ) का लागि र अर्को ‘मङझोउ’ नामको चन्द्रमाको लागि। आंशिक पुनः प्रयोग गर्न मिल्ने एलईओ संस्करणले ६–७ जना अन्तरिक्ष यात्री वा केही यात्रीसहित ५०० केजीसम्म कार्गो तियाङगोङ पुर्याउन सक्नेछ।
यसले मिशनका विकल्प र लचिलोपन बढाउने अपेक्षा गरिएको छ। हाल चीनले तीन जना अन्तरिक्ष यात्रीलाई शेन्जोउ अन्तरिक्ष यानमार्फत तियाङगोङ पठाउँछ, जहाँ उनीहरू ६ महिनासम्म बस्ने गर्छन्। अन्तर्राष्ट्रिय साझेदारसहितका उडानहरू सुरुआती चरणमा छोटो अवधि र कम जिम्मेवारीसहित हुने सम्भावना छ।
नयाँ पुस्ताको पृथ्वी-कक्षीय यान प्रक्षेपणका लागि प्रयोग गरिने लङ मार्च १० रकेटको पहिलो प्रक्षेपण सन् २०२६ मा हुने तय गरिएको छ। मङझोउ र चन्द्र मिशनका लागि साझा बूस्टर भेरिएन्ट पनि विकास भइरहेको छ, जुन सन् २०३० अघि प्रक्षेपण गर्ने योजना छ।
तियाङगोङको अपेक्षित विस्तारले चीनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) को विकल्पका रूपमा पृथ्वीको तल्लो कक्षमा दीर्घकालीन मानव उपस्थिति कायम राख्न चाहेको संकेत दिन्छ। यसैबीच, नासाको हालैको बजेट प्रस्तावले आईएसएस सञ्चालनको खर्च घटाउने संकेत दिएको छ भने निजी क्षेत्रका विकल्पहरूलाई समर्थन गर्ने प्रतिबद्धता अझै स्पष्ट छैन।
प्रकाशित: २९ बैशाख २०८२, सोमबार