ताजा समाचार

सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस
Global IME Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत्लगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन्।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउन हरेक दिन एक पाइला अगाडि भन्ने सोचका साथ काम गर्न आग्रह गरे। उनले मुलुकको सुशासन, विकास र सहज सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगको अधिकारलाई विस्तार गर्दै थप उपलब्धि हासिल गर्नुपर्ने बताए।

“हाम्रो मुलुक उर्वर र जीवनमय छ । यहाँ लगानीको प्रचुर सम्भावना छ । हामी हाम्रै पालामा केही गर्न सक्छौँ भन्ने आत्मविशवासका साथ काम गरौँ । हाम्रो यात्रा अग्रगामी कदमतर्फ अवश्य बढ्नेछ”, प्रधानमन्त्री ओलीले भने, “शिक्षालगायत हरेक क्षेत्रमा सूचना र प्रविधिको प्रयोग बढ्दै गएको छ । एसइईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने अवस्था अन्त्यका लागि व्यक्तिगत पहलमा पनि गत वर्षदेखि ‘अनलाइन’ माध्यमबाट महत्वपूर्ण विषयमा कक्षा सञ्चालन गरियो । विद्यार्थीहरुको भविष्य अन्धकारमा पार्नु हुन्न भनेर गरिएका यस्ता कामलाई प्रोत्साहन गर्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले अब हामीले आफ्नै सुरक्षासहितको ‘डेटा’ प्रणाली कायम गर्नुपर्नेमा जोड दिँदै व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेका लागि सूचना प्रविधिको विकास आफैँमा जवाफ भएको टिप्पणी गरे।

“एक लाइन टेलिफोन पाउन मन्त्रीको तोक लगाउनुपर्ने अवस्थाबाट हामी धेरै अघि बढिसकेका छौँ। अन्तरिक्षमा पनि आफ्नै ‘स्याटेलाइट’ पठाउने प्रयास सुरु भएको छ । यस क्षेत्रमा नयाँ पुस्ताका हस्ती तयार भइसकेका छन्,” उनले भने, “हामी आत्मविश्वासका साथ अघि बढौँ । सूचना प्रविधिका क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादन र तालिममा जोड दिँदै जानेछौँ । अब मुलुकको समृद्धिका लागि कुनाकुनाका जनजनमा विकास र सुशासनका लागि सूचना तथा सञ्चार प्रविधिको विस्तार र प्रयोगमा जानुपर्छ। सूचना र प्रविधिको दुरुपयोग गरेर व्यक्तिको हुर्मत लिने प्रवृत्तिबाट चाहिँ सचेत हुनुपर्छ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेश सरकारको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारीधनी प्रमाणपत्र (ब्ल्यू बुक)लाई नागरिक एपमा आबद्ध गर्ने कार्यको शुभारम्भ गरे। सो अवसरमा राष्ट्रिय सूचना प्रविधि अवार्डबाट प्राडा शशीधर राम जोशीसहित विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिएको थियो। रासस

Sajilo Visa
easy care